Kakhara सबैको खबर सम्पूर्ण खबर
जनक–सुदन स्मृति कप: आज ५ खेल, क–कसले जिते ?

रुकुम पश्चिमको मुसिकोटमा जारी तेस्रो जनक–सुदन स्मृति कप रनिङ शिल्ड खुला पुरुष वडा स्तरीय भलिबल प्रतियोगितामा आज ५ खेल भएका छन् । बाँफिकोट ६, सिस्ने ६, रुकुम पश्चिम भलिबल मुसिकोट ७, परिवर्तन गाउँपालिका ४ रोल्पा, सानीभेरी ५ विजयी भएका छन् । 

बाँफिकोट ६ ले सिस्ने ४ रुकुम पूर्वलाई ३–१ को सेटमा पराजित गरेको हो । अर्को खेलमा सिस्ने ६ ले आठबिसकोट ३ र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले बाँफिकोट १ लाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । स्यार्पू क्याम्पस बाँफिकोटले परिवर्तन ४ रोल्पालाई ३–२ को सेटमा पराजित गरे पनि सबै खेलाडीको डकुमेन्ट नपुगेका कारण आउट भएको छ । 

आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अनुसार रोल्पाका खेलाडीले तीन जना खेलाडीलाई शङ्कास्पद मानेर उजुरी दिएपछि छानबिन गर्दा तीनै जना खेलाडी क्याम्पसका विद्यार्थी नभएको पाइएपछि स्यार्पू क्याम्पस अयोग्य घोषित भएको र परिवर्तन ४ रोल्पा विजयी भएको हो । आजको अन्तिम खेलमा सानीभेरी ५ ले बाँफिकोट ३ लाई पराजित गर्‍यो । 

निकै प्रतिस्पर्धात्मक खेलमा गत संस्करणको विजेता बाँफिकोट ३ माथि सानीभेरी ५ ३–२ को सेटमा विजयी भएको अध्यक्ष बुढाले बताउनुभयो । भोलीको पहिलो खेल सानीभेरी ३ र रुकुम पश्चिम भलिबल मुसिकोट ७ र दोस्रो खेल सानीभेरी ४ तथा बाँफिकोट २ का बिचमा हुने आयोजकले जनाएको छ । असोज १ गतेबाट भएको प्रतियोगिता असोज ५ गतेसम्म सञ्चालन हुने छ । 

प्रतियोगिताको विजेताले १ लाख १५ हजार, उपविजेताले ७५ हजार, तेस्रो स्थान प्राप्त गर्नेलाई ५१ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २५ हजार रुपैयाँ सहित स्थान प्राप्त गर्ने सबै टिमलाई कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो । त्यस्तै विजेता टिमले शिल्ड प्राप्त गर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार विधागत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्नेलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । विधागत तर्फ वेस्ट प्लेयरलाई ५ हजार, वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो, वेस्ट ब्लकर, बेष्ट सेटर, उदयमान खेलाडी, र बेष्ट कोचले सम्मान २/२ हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र पाउने उहाँले जानकारी दिनुभयो । 

सुरुको वर्ष र गत वर्ष महिला पुरुष भलिबल आयोजना गरेको प्रशिक्षण केन्द्रले यस पटक भने पुरुष भलिबल प्रतियोगिता मात्र आयोजना गरेको छ । तीन वर्ष अघिदेखि जनक–सुदनको स्मृतिमा रुकुम भलिबल प्रशिक्षण केन्द्रले भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । 

भलिबल खेलाडी द्वय जनक शाह र सुदन श्रेष्ठको स्मृतिमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले २०८० सालदेखि जनक–सुदन स्मृति कप रनिङ शिल्ड भलिबल प्रतियोगिताको आयोजना गरिरहेको छ । दुवै जनाको २०७४ सालमा गाडी दुर्घटनामा मृत्यु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update