
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ का अवसरमा रुकुम पश्चिममा सरोकारवालाहरू बिच अन्तरक्रिया गरिएको छ । जिल्ला समन्वय समिति रुकुम पश्चिमको आयोजना र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको सह आयोजनामा शुक्रवार मुसिकोटमा संविधान समारोह तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख देवबहादुर विकले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा संविधान, यसको महत्त्व, संविधानबाट प्राप्त उपलब्धि, संविधानको कार्यान्वयनमा देखिएका चुनौतीहरू, यसको कार्यान्वयनमा सरोकारवालाहरूको भूमिका र देशमा विकसित पछिल्लो घटनाक्रम र त्यसले निम्त्याएको सङ्कटका बारेमा समेत छलफल भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालको वर्तमान संविधान नेपाली जनताको लामो त्याग र तपस्याबाट प्राप्त भएकाले यसका उपलब्धिहरूको सबैले रक्षा गर्नुपर्ने बताएका थिए । सहभागीहरूले संविधान पनि संशोधन गर्न मिल्ने कानुन भएकाले केही असन्तुष्टि र छुटेका कुराहरू भए पनि त्यसलाई संविधान कै परिधि भित्र रहेर परिमार्जन र परिष्कृत गर्दै जानु पर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपाध्यक्ष देवबहादुर विकले उत्पीडित वर्गलाई राज्यको मूल प्रवाहमा ल्याउन अहिलेको संविधान उत्कृष्ट भएकाले यसलाई अझ राम्रो बनाउन समय अनुसार रूपान्तरण गर्दै जानुपर्ने बताउनुभयो ।
त्यस्तै मुसिकोट नगरपालिकाका नगरप्रमुख महेन्द्र केसीले संविधानका राम्रा पक्षलाई आत्मसाथ गर्दै केही कमीकमजोरी भए सच्याएर अघि बढ्नु पर्ने भन्दै अहिलेको विषम परिस्थितिमा सबैलाई प्रतिबद्ध भएर आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो ।
उहाँले जनताका असीमित आवश्यकता र सीमित स्रोत साधनका बाबजुद पनि स्थानीय सरकारले आफ्नो क्षमता अनुसारको सेवा प्रवाह गरी रहेको उल्लेख गर्दै अहिलेको म्यान्डेट अनुसार जिम्मेवार सबै पक्षहरू सुधार गर्दै अघि बढेमा जनताले अपेक्षा गरे अनुसारको सुशासन युक्त समाजको निर्माण गर्न सकिने बताउनुभयो ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जनतालाई प्रभावकारी सेवा दिन कर्मचारी तन्त्रमा भएका कमीकमजोरी पनि सुधार गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
यसैबिच संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्लामा रहेका प्रमुख तीन राजनैतिक दलको समान धारणा आएको छ । तीनै दलले अब राजनैतिक दलका नेतृत्वहरू सच्चिनु पर्छ, आफ्ना कमीकमजोरीको आत्म समीक्षा गरिनु पर्छ भन्ने धारणा व्यक्त गरेका थिए ।
नेपाली काँग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले राजनैतिक नेतृत्वकै कमजोरीका कारण अहिले चौतर्फी असन्तुष्टि बढेकाले यसमा दलहरू गम्भीर बन्नुपर्ने बताउनुभयो । पछिल्ला केही घटनाक्रमले संविधान सङ्कटमा परेको बताउँदै उहाँले तोकिएकै समयमा निर्वाचन गराएर मुलुकलाई निकास दिन अन्तरिम सरकारलाई आग्रह गर्नुभयो ।
नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटाले संविधानको सही कार्यान्वयन गर्न नसकिएको भन्दै आफ्नो अधिकार प्रयोग गर्दा दायित्व पनि पूरा गर्नुपर्ने बताउनु भयो । अध्यक्ष देवकोटाले राजनैतिक नेतृत्व कै कारण अहिले राजनैतिक अस्थिरता आएको स्विकार्दै अब सोच र बिचारलाई परिवर्तन गरी आ–आफ्ना कमजोरी स्वीकार गर्दै गहिरो आत्म समीक्षा गर्न तयार रहेको बताउनुभयो ।
यस्तै नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य धनवीर ओलीले अहिले राजनैतिक दलप्रति तीव्र असन्तुष्टि आउनुमा दलहरू नै मुख्य जिम्मेवार भएकाले एक अर्कामा दोष नलगाई गम्भीरता पूर्वक त्यसको समीक्षा गर्नु पर्ने बेला आएको बताउनुभयो । रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पल खडकाले संविधान कार्यान्वयनमा अहिले पनि समस्या रहेकाले त्यसको सफल कार्यान्वयनका लागि जिम्मेवार बन्न सबै पक्षलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विभिन्न निकाय तथा सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि सहित अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।