
संविधान दिवसको अवसरमा रुकुम पश्चिममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको आयोजना र नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमको सह आयोजनामा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो ।
जिल्ला अस्पताल सल्लेमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ४ जनाले ४ पिन्ट रक्तदान गरेका छन् । केही व्यक्तिलाई भने सम्पर्कमा राखिएको बताइएको छ । आवश्यकता रहेको र टाढाका व्यक्तिबाट रगत निकालिएको र नजिकलाई सम्पर्कमा राखिएको आयोजक नेपाल पत्रकार महासङ्घले जनाएको छ ।
रगतको अभावमा कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख देवबहादुर विकले रगत जीवन जोगाउन महत्त्वपूर्ण भएकोले यो कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभयो । चाहिएको बेला रगत पाइएन भने बिरामीको ज्यान नै जान सक्ने भएकोले यस्ता कार्यक्रमले बिरामीको ज्यान जोगाउन भूमिका खेल्ने उहाँको भनाई थियो ।
साथै उहाँले संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले रक्तदान पुण्यको काम भएको भन्दै यो कार्यक्रमको प्रशंसा गर्नुभयो । रगत दिएर कसैको ज्यान जोगाउनु जत्ति पुण्यको काम अरू नभएको भन्दै उहाँले यस्ता पुण्यका काममा जोडिन सबैलाई आग्रह समेत गर्नुभयो ।
उहाँले पनि संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षा निकाय, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी, पत्रकार लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाइटी चौरजहारी उपशाखा सभापति तेजबहादुर बटालाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रेडक्रस रुकुम पश्चिमका मन्त्री यज्ञबहादुर खत्रीले गर्नुभएको थियो ।
संविधान दिवसको अवसरमा हिजो चौरजहारीमा पनि रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा ९ पिन्ट रगत दान भएको बताइएको छ ।