Kakhara सबैको खबर सम्पूर्ण खबर
तेस्रो जनक–सुदन स्मृति कप भलिबल आज नसकिने 

रुकुम पश्चिमको मुसिकोट खलङ्गामा जारी तेस्रो जनक–सुदन स्मृति कप खुला वडा स्तरीय भलिबल आज नसकिने भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार आज सकिने भनिए पनि धेरै खेल बाँकी रहेकोले आज नसकिने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । 

आयोजकले खेल भोली असोज ६ गते सक्ने तयारी गरेको छ । प्रतिकुल मौसमका कारण सोचे अनुसार खेलहरू सञ्चालन गर्न नसकिएका कारण तोकिएको समय आज खेल नसकिने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो । 

भोली खेल सक्ने तयारी भइरहेको उहाँको भनाई छ । प्रतियोगितामा हिजो शनिवार ५ खेल भएका छन् । जसमा रुकुम पश्चिम भलिबल मुसिकोट ७, बाँफिकोट गाउँपालिका २, बाँफिकोट ४, सिस्ने गाउँपालिका ६ र परिवर्तन गाउँपालिका ४ रोल्पा विजयी भएका छन् । 

रुकुम पश्चिम भलिबल मुसिकोट ७ ले सानीभेरी ३ लाई ३–१, बाँफिकोट २ ले सानीभेरी ४ लाई ३–०, बाँफिकोट ४ ले सिस्ने ८ लाई ३–१, सिस्ने ६ ले बाँफिकोट ७ लाई ३–१ र परिवर्तन ४ ले पनि स्यार्पू क्याम्पस बाँफिकोटलाई ३–१ कै सेटमा पराजित गरेको हो ।

आजको पहिलो खेलमा रुकुम पश्चिम भलिबल मुसिकोट ७ र मुसिकोट नगरपालिका ९ का बिचमा खेल हुने आयोजकले जनाएको छ । यी दुई टिम बिचको खेल हिजो समय अभावका कारण बिचमै रोकिएको थियो । हिजो दुवै टिमले १–१ सेट हात पारेको अवस्थामा खेल रोकिएको थियो । 

janak-sudan-1758420928.jpg
प्रतियोगिताको विजेताले १ लाख १५ हजार, उपविजेताले ७५ हजार, तेस्रो स्थान प्राप्त गर्नेलाई ५१ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २५ हजार रुपैयाँ सहित स्थान प्राप्त गर्ने सबै टिमलाई कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो । त्यस्तै विजेता टिमले शिल्ड प्राप्त गर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार विधागत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्नेलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । विधागत तर्फ वेस्ट प्लेयरलाई ५ हजार, वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो, वेस्ट ब्लकर, बेष्ट सेटर, उदयमान खेलाडी, र बेष्ट कोचले सम्मान २/२ हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र पाउने उहाँले जानकारी दिनुभयो । 

सुरुको वर्ष र गत वर्ष महिला पुरुष भलिबल आयोजना गरेको प्रशिक्षण केन्द्रले यस पटक भने पुरुष भलिबल प्रतियोगिता मात्र आयोजना गरेको छ । तीन वर्ष अघिदेखि जनक–सुदनको स्मृतिमा रुकुम भलिबल प्रशिक्षण केन्द्रले भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । 

भलिबल खेलाडी द्वय जनक शाह र सुदन श्रेष्ठको स्मृतिमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले २०८० सालदेखि जनक–सुदन स्मृति कप रनिङ शिल्ड भलिबल प्रतियोगिताको आयोजना गरिरहेको छ । दुवै जनाको २०७४ सालमा गाडी दुर्घटनामा मृत्यु भएको थियो ।।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update