
जेन–जी आन्दोलनको फाइदा उठाएर रुकुम पश्चिम कारागारबाट भाद्र २४ गते भागेका मध्ये अझै २४ जना फरार छन् । डेढ सय बढी कैदीबन्दी रहेको जिल्ला कारागारबाट ढोका फोडेर ८८ जना भागेका थिए । केहीलाई सोही दिन प्रहरीले पक्राउ गरेर कारागारमा राखेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म भागेका मध्ये ६४ जना कैदीबन्दी पक्राउ गरिएको छ ।
२४ जना कैदीबन्दी भने अझै फरार रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो । उनीहरूको घर, गाउँ, जिल्लाका सीमा नाकामा कडाइ गरिएको बताउँदै डिएसपी विष्टले नेपाल भारत सीमा नाकामा समेत परिपत्र गरिएको बताउनुभयो । अहिलेसम्म अधिकांशलाई रुकुम पश्चिम र रुकुम पूर्वका विभिन्न ठाउँबाट पक्राउ गरिएको छ भने एक जनालाई दाङको लमहीबाट समेत पक्राउ गरिएको उहाँले बताउनुभयो ।
घरबाट भने अहिलेसम्म कोही पक्राउ नपरेको डिएसपी विष्टको भनाई छ । उनीहरू जान सक्ने सम्भावित सबैतिर खोजी भइरहेको उहाँले बताउनुभयो । भागेर कसैले पनि सुख नपाउने उहाँले बताउनुभयो । फरार कैदीबन्दीहरु विभिन्न गम्भीर अपराधमा संलग्न भई सजाय भोगिरहेकाहरू रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले यसअघि नै सूचना जारी गरेर आफैँ कारागार फर्किन समय दिएका थिए । तर एक जना मात्र आफैँ फर्किएका थिए । जघन्य अपराधमा संलग्नहरू भागेकोले उनीहरूले फेरि शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै प्रहरीले कोही कैदीबन्दी लुकीछिपी बसेको थाहा पाएमा प्रहरीलाई खबर गर्न सबैमा अनुरोध गरेको छ ।