Kakhara सबैको खबर सम्पूर्ण खबर
मर्यादित रूपमा चाडपर्व मनाउन जिल्ला प्रशासनको आग्रह 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले बडादसैँ, तिहार र छठ तथा नेपाल संवत् ११४५ पर्व मर्यादित रूपमा मनाउन अनुरोध गरेको छ । आज एक सूचना जारी गर्दै प्रशासनले चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्नुका साथै मर्यादित र शान्तिपूर्ण वातावरणमा चाडपर्व मनाउन जिल्लावासीमा अनुरोध गरेको हो । 

चाडपर्वहरूलाई मर्यादित र शान्तिपूर्ण बनाउन तथा चाडपर्वको समयमा सवारीसाधनको प्रयोगमा हुने चापलाई उचित व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी तथा सरोकारवाला सम्पूर्णलाई विशेष अनुरोध समेत गरिएको छ । 

त्यस्तै मनसुनजन्य विपत्का घटनामा सतर्क रहन समेत प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले आग्रह गर्नुभएको छ । यस वर्षको मनसुन अझै सक्रिय रहेकोले मनसुनजन्य विपद्को कारणबाट सडक तथा राजमार्गहरू अवरोध हुनसक्ने भएकोले सबै स्थानीय तह, पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय तथा जिल्लास्थित विकास आयोजनाहरूलाई पूर्व तयारी एवं प्रतिकार्यमा जुट्न उहाँको आग्रह छ । 

यसका लागि आफूसँग उपलब्ध एक्स्काभेटर, लोडर, डोजर, टिप्पर लगायतका सामग्रीहरू तयारी अवस्थामा राख्दै सवारीसाधनहरूको आवागमनलाई सहज बनाउन सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।

मनसुन अवधिभर जुनसुकै बेला बाढी पहिरो झर्न सक्ने र नदीको सतहमा वृद्धि भई नदी आसपासका बस्ती उच्च जोखिममा रहन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अपनाउन समेत समेत जिल्ला प्रशासन कार्यालयले जिल्लावासी सबैमा अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update