
रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मुसिकोटमा सञ्चालन भएको साधारण सभामा बितेको आर्थिक वर्ष २०८१/०८२ मा संस्था मार्फत भएका कार्यक्रम, तीनको प्रगति, लाभान्वितको अवस्था, बजेट खर्च, सफलता, चुनौती, सिकाई लगायतका विषयमा जानकारी गराइएको थियो ।
संस्थाले १ वर्षमा ४ वटा परियोजना मार्फत रुकुम पश्चिम, रुकुम पूर्व, दाङ, बाँके, मुगु, दैलेख, जाजरकोट र सुर्खेत जिल्लामा काम गरेको जनाएको छ । दलित, जनजाति, महिला, बालबालिका, युवा र विपन्न समुदायका लागि आयआर्जन, जनचेतनामूलक, रोजगारमूलक, कृषि, वन, खानेपानी, जलवायु परिवर्तन, शिक्षा, स्वास्थ्य तथा पोषण सम्बन्धीका जनचेतना अभिवृद्धि र संस्थागत विकासका काम भएको बताइएको छ ।
स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रम, कर्णाली प्रदेशका स्वास्थ्य सेवा सुविधाहरूमा पानी, सरसफाइ र स्वच्छता, स्वास्थ्य सेवा फोहर व्यवस्थापन र सङ्क्रमण रोकथाम नियन्त्रण सेवाहरूमा सुधार परियोजना, रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावित बालबालिकाहरूको लागि शिक्षा प्रतिकार्य निरन्तरता कार्यक्रम र रुकुम पश्चिम जिल्लामा परियोजना सञ्चालनको लागि प्राविधिक सहयोग कार्यक्रम सञ्चालन भएको संस्थाका सचिव प्रवीर ददेलले जानकारी दिनुभयो ।
यी परियोजना सञ्चालनका लागि ७ करोड ५० लाख ४२ हजार ५ सय ७ रुपैयाँ बजेट रहेकोमा ७ करोड ४९ लाख ८० हजार ९ सय ५४ रुपैयाँ खर्च भएको तथा ६१ हजार ५ सय ५३ रुपैयाँ मौज्दात रहेको सचिव ददेलले साधारण सभामा पेस गरेको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै संस्थाबाट सञ्चालित परियोजनाले ८ जिल्लाका साढे ४ लाख बढी नागरिक लाभान्वित भएको उक्त प्रगति प्रतिवेदनमा उल्लेख छ । महिला २ लाख ४७ हजार ६ सय ४५ जना र पुरुष २ लाख १४ हजार ७ सय १५ जना गरी ४ लाख ६२ हजार ३ सय ६० जना लाभान्वित भएको बताइएको छ । जसमा दलित ८६ हजार ७ सय ८६, जनजाति १ लाख ४६ हजार १६ र अन्य २ लाख १४ हजार ५ सय ३० रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा परियोजना अनुसारको बजेट, प्रगति, लाभान्वित नागरिक, चुनौती लगायतका बारेमा जानकारी गराइएको थियो । कार्यक्रमका सहभागीहरूले संस्था मार्फत विभिन्न क्षेत्रमा महत्त्वपूर्ण काम भएको भन्दै प्रशंसा गरेका थिए भने प्रभावकारिता, पारदर्शिता र सुशासनमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष केशनकुमार क्षेत्रीयालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख महेन्द्र केसीको प्रमुख र जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विक, प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीको विशेष आतिथ्यता रहेको थियो ।
संस्थाका उपाध्यक्ष सुशीला शर्मा दाहालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी निर्देशक नरेन्द्र ओलीले गर्नुभएको थियो ।