Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमद्वारा रातको समयमा यात्रा नगर्न अनुरोध 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले देशभरमा भारी वर्षाको सम्भावना रहेकोले विशेष सतर्कता अपनाउन जिल्लावासीमा आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै प्रशासनले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज १८, १९ र २० गते देशका विभिन्न भू–भाग लगायत कर्णाली प्रदेश र रुकुम (पश्चिम भाग) जिल्लामा समेत मध्यम तथा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेकोले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । 

वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, पहिरो र भू–क्षय लगायतका विपत्जन्य जोखिमका साथै सडक यातायात समेत प्रभावित हुनसक्ने अवस्थालाई दृष्टिगत गरी सतर्कता अपनाउन तथा पूर्व तयारी एवं प्रतिकार्यमा जुट्न सम्बन्धित सबैलाई अनुरोध गरिन्छ, प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीद्वारा जारी सूचनामा उल्लेख छ । 

त्यस्तै प्रशासनले रातको समयमा यात्रा नगर्न अनुरोध गरेको छ । असोज १८ देखि २० गतेसम्म अत्यन्त जरुरी काम विना घरदेखि टाढा र रातको समयमा यात्रा नगर्नुहुन । यात्रा गर्नुपर्दा सतर्कता अपनाउनुहुन र सुरक्षित रूपमा आफू बसोबास गरिरहेको स्थानमा बस्नुहुन अनुरोध छ, प्रशासनले भनेको छ । 

साथै बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरूमा उच्च सतर्कता अपनाउन, नदी तथा खोला किनाराका बासिन्दाहरू बाढीको उच्च बहाव हुन लागेमा सो स्थान छाडी सुरक्षित स्थानमा बस्न र यसका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न प्रशासनले अनुरोध गरेको छ ।

जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई आपत्कालीन अवस्थामा उपयोग गर्नका लागि आवश्यक पर्ने सामाग्री, औषधी, महत्त्वपूर्ण कागजात सहितको झटपट झोला तयार गरी राख्न पनि प्रमुख जिल्ला अधिकारी थानीले जिल्लावासीमा आग्रह गर्नुभएको छ ।

त्यस्तै जिल्लाभित्रका राजमार्ग तथा ग्रामीण सडकमा चल्ने सवारी साधनलाई संयततापूर्वक सञ्चालन गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउन र सुरक्षित यात्राको लागि सतर्कता अपनाउन यातायात व्यवसायीले सवारी चालक र सहचालकलाई सचेत गराउन पनि आग्रह गरिएको छ ।

जिल्लास्थित सबै सुरक्षा निकाय, सबै स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी, अन्य साझेदार संस्था, नागरिक समाज, निजी क्षेत्र तथा सरोकारवाला निकायहरूलाई समेत विपद् पूर्व तयारीमा जुट्न र आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्रशासनले उक्त सूचना मार्फत नै आग्रह गरेको छ ।

यसैबिच प्रशासनले कुनै विपत्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, नजिकको प्रहरी इकाई वा सुरक्षा निकाय, स्थानीय प्रशासन र देहायका सम्पर्क नम्बरमा तुरुन्त जानकारी गराउन पनि भनेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज २० गतेसम्मै भारी वर्षा हुने जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update