देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै रुकुम पश्चिमबाट गाडी छुटाउन रोक लगाइएको छ । बिहानैबाट जिल्लाबाट गाडी छुट्न नदिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो ।
देशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको र राजमार्गहरू बन्द रहेको अवस्थामा जिल्लाबाट गाडी छुट्न नदिएको उहाँले बताउनुभयो । यसका लागि ट्राफिक प्रहरी तथा नेपाल प्रहरीले विभिन्न चेकपोस्टहरूमा कडाइ गरिरहेको उहाँको भनाई छ ।
यातायात व्यवसायीहरूलाई सम्भावित जोखिमबारे जानकारी गराउने र सम्भावित क्षति हुन नदिनका लागि गाडीलाई लामो दुरीका लागि जिल्ला बाहिर छुट्न नदिएको डिएसपी विष्टको भनाई छ । जिल्ला सदरमुकाम खलङ्गाबाट छुट्नेलाई बागबजार तथा ट्राफिक प्रहरी कार्यालयबाट जान नदिएको तथा मध्य पहाडी लोक मार्गका लागि साँख र राप्ती राजमार्गका लागि झुल्नेटामा कडाइ गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार अहिलेसम्म रुकुम पश्चिममा ठुलो पानी नपरे पनि छिमेकी जिल्लाहरूमा पानी पर्न सुरु गरिसकेको र मुख्य राजमार्गहरू बन्द रहेको अवस्थामा जिल्लाबाट बाहिरिने गाडीमा कडाइ गरिएको हो । जिल्ला प्रशासन कार्यालयले पनि रातको समयमा यात्रा नगर्न तथा अत्यावश्यक बाहेक अन्य अवस्थामा यात्रा नगर्न अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज १८, १९ र २० गते देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन र सवारी साधनमा रोक लगाउन अनुरोध गरेको थियो । सोही अनुसार सरकारले सवारी सञ्चालनमा कडाइ गरिरहेको छ ।





-1759842583.jpg)