
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ बाँस्थलामा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । यही असोज २९ गतेदेखि स्वच्छ हराभरा सरस्वती युवा क्लबको आयोजनामा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा खेलकुद सँगै विजया दशमी तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रम समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा खुला शुद्ध वडा स्तरीय पुरुष भलिबल, रस्साकस्सी, मयूर नाच, पञ्चेबाजा र सिँगारु नाच आयोजना गरिएको क्लबका अध्यक्ष चन्द्रबहादुर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले ५५ हजार ५५ रुपैयाँ नगदसहित कप,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो स्थान हासिल गर्ने समूहले ३० हजार ५५ रुपैयाँको साथमा कप, मेडल, प्रमाणपत्र र तेस्रो हुने समूहले १५ हजार ५५ रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क ५ हजार ५५ रुपैयाँ रहेको छ ।
त्यस्तै विधागत तर्फ वेस्ट प्लेयर, वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो, वेस्ट व्लकर, वेस्ट सेटरलाइ कपको व्यस्था गरिएको छ । त्यस्तै रस्साकस्सी प्रतियोगितामा विजेता हुने टिमले १५ सय रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गर्नेछ । दर्ता शुल्क १ सय ५० रहेको छ । त्यस्तै सिँगारु नाचलाई २ हजार र मयूर नाच र पञ्चेबाजा समूहलाई ५५ हजारका दरले पुरस्कार दिइने आयोजक स्वच्छ हराभरा सरस्वती युवा क्लब बाँफिकोट ७ ले जनाएको छ ।