
दसैँ अवधिमा रुकुम पश्चिममा १ सय ३० वटा सवारी साधन कारबाहीमा परेका छन् । घटस्थापनाको दिन असोज ६ गतेदेखि आजसम्म जिल्ला भरमा १ सय ३० वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । २ साताको अवधिमा भएको सवारी कारबाहीबाट १ लाख १२ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शैलेन्द्र मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार कागजात नभएका, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने, ओभर स्पिड, मादक पदार्थ सेवन लगायतका ट्राफिक निमय उल्लंघन गर्ने सवारी साधन कारबाहीमा परेका हुन् । सिट क्षमता भन्दा बढी यात्रु बोक्ने १२ सवारी साधन कारबाहीमा परेका छन् भने १० हजार ५ सय राजस्व संकलन भएको उहाँले बताउनुभयो ।
साथै यो अवधिमा ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गरेको छ । विभिन्न ठाउँमा गरेर ३० वटा ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकामा ५ सय ५० जना लाभान्वित भएको ट्राफिक प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो । विशेषगरी ट्राफिक नियम, नियम उल्लंघन गरे हुने कारबाही, सुरक्षित यात्रा, यात्रु मैत्री व्यवहार लगायतका विषयमा विशेष गरी सवारी चालक, सहचालक तथा यात्रु सहित अन्य व्यक्तिहरुलाई लक्षित गरेर जनचेनतामूलक कार्यक्रमहरु सञ्चालन गरिएको बताइएको छ ।
त्यस्तै चाडपर्वहरुलाई लक्षित गर्दै जिल्लाका विभिन्न १० ठाउँमा यात्रु सहायता कक्ष समेत सञ्चालन गरिएको छ । उक्त कक्षबाट विशेषगरी यात्रुहरुलाई विभिन्न प्रकारका सहायता प्रदान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । यसैविच दसैँको २ साताको अवधिमा जिल्लाभरमा १० वटा सवारी दुर्घटना भएका छन् । जसमा कुनैपनि मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको थियो ।
जिल्लामा चाडपर्वलाई लक्षित गरेर एकीकृत सुरक्षा योजना लागु गरिएको छ भने ट्राफिक व्यवस्थामा विशेष ध्यान केन्द्रित गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । चाडपर्वमा सवारी दुर्घटनाको जोखिम हुने, ट्राफिक व्यवस्थापनमा चुनौति थपिने तथा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि बढी हुनसक्ने भन्दै प्रहरीले एकीकृत सुरक्षा योजना अनुसार काम बताएको छ ।