Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा श्रीमद्भावगत सप्ताह ज्ञानमहायज्ञ सुरु 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ बराहटाकुरामा ऐतिहासिक श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । आजबाट बराहटाकुरामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो । आजबाट सुरु भएको महायज्ञ असोज ३० गतेसम्म सञ्चालन हुने आयोजक बुद्ध भूमि मानव सेवा आश्रमले जनाएको छ ।

उद्घाटनको दिन बराहाटाकुराबाट तल्लो बजार, कालिकास्थान, बागबजार, सेरिगाउँ हुँदै पुनः बराहटाकुरासम्म बाजागाजासहित कलश यात्रा गरिएको थियो । ज्ञानमहायज्ञमा पितृ मुक्ति, धार्मिक, सांस्कृतिक, तुलादान, भूमि दान गर्न सकिने बुद्ध भूमि मानव सेवा आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार हिजो उद्घाटन गर्ने भनिए पनि पाँच पूर्णिमा मेलाले एक दिन पछि सरेको हो । ज्ञान महायज्ञ सप्ताहमा प्रमुख बाचकको रूपमा आचार्य पण्डित नारायण खनाल रहनुभएको छ ।

ज्ञान महायज्ञमा सवा करोड दीप प्रज्वलन समेत गरिने छ । ज्ञान महायज्ञमा भागवतको  एक दिनको  कर्ता बनेमा २१ सय, ब्राह्मण भोजन गराएमा ५१ सय र सात दिनेको कर्ता बनेमा २१ हजार शुल्क लाग्ने छ  । 

पूजा पाठपारायण बिहान ७ बजेदेखि १० बजेसम्म हुने आयोजक बुद्ध भूमि मानव सेवा आश्रम रुकुम पश्चिमले जनाएको छ । अभिभावक विहिन बेवारिसे वृद्धवृद्धा, मनोरोगी, अनाथ, अपांग, अशक्त असहाय र विपन्न व्यक्तिहरुको पालनपोषणका लागि महायज्ञ आयोजना गरिएको आश्रमको भनाई छ । 

मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा रहेको आश्रमले हाल यस्ता व्यक्तिहरुको पालनपोसन गरिरहेको छ ।

आज एक कार्यक्रमका बिच महायज्ञकाे उद्घाटन भएकाे हाे । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीकाे विशेष आतिथ्यता रहेकाे थियाे । 

 

 

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update