
पर्यटकीय नगरी कास्की पोखरा र रुकुम पश्चिम पहिलो पटक हवाई उडानमा जोडिएका छन् । आज शुक्रवार पहिलो पटक तारा एयरको विमानले पोखराबाट रुकुम पश्चिमको सल्ले विमानस्थलमा उडान भरेको छ । यो सँगै पोखरा र रुकुम पश्चिम पहिलो पटक हवाई उडानमा जोडिएका हुन् ।
अब नियमित रूपमा उडान हुने तारा एयरका रुकुम पश्चिम प्रतिनिधि लालवीर बोहराले जानकारी दिनुभयो । विशेष गरी पर्यटन प्रवर्द्धनका लागि पोखरा–रुकुम पश्चिम हवाई उडान सुरु गरिएको उहाँले बताउनुभयो । पोखरा पुगेका पर्यटकहरूलाई रुकुम पश्चिम उतार्ने उद्देश्यले उडान सुरु भएको उहाँको भनाई छ ।
पर्यटकीय हब पोखरा पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरूलाई रुकुम पश्चिम पुर्याएर यहाँको पर्यटन प्रवर्द्धनका लागि यसले सहयोग पुग्ने उहाँको विश्वास छ । अब हप्ताको शुक्रवार र शनिवार दुई दिन उडान हुने उहाँको भनाई छ ।
उहाँका अनुसार शुक्रवार पोखरा–रुकुम–नेपालगन्ज उडान हुने छ भने शनिवार नेपालगन्ज–रुकुम–पोखरा उडान हुने छ । यो उडानले रुकुमबाट पोखरा हुँदै काठमाडौँ जान र पोखराबाट रुकुम आउन सहज हुने छ । यसअघि तारा एयरले नेपालगन्ज–रुकुम पश्चिम उडान भरिरहेको थियो ।
मध्यपहाडी लोक मार्गले रुकुम पश्चिम र पोखरा यसअघि नै जोडिएका थिए । अप्ठेरो बाटोका कारण यात्रामा केही समस्या भोग्न बाध्य यात्रुहरूलाई अब विमान मार्फत सहज यात्रा गर्ने अवसर सिर्जना भएको छ ।