
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ को बेल्टापु खेल मैदानमा सञ्चालन भएको दोस्रो फुक्रु कप टी–२० क्रिकेट प्रतियोगिताको खर्च विवरण सार्वजनिक भएको छ ।
असोज ९ गते देखि सञ्चालन भएको प्रतियोगिताका लागि आयोजक फुक्रु कप टी–२० क्रिकेट प्रतियोगिता सञ्चालक समितिले कुल २ लाख ९३ हजार २ सय १० रुपैयाँ सङ्कलन गरेको थियो । जसबाट प्रतियोगिता सञ्चालन गर्दा २ लाख १५ हजार ९ सय ८० रुपैयाँ खर्च भएको आयोजकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
प्रतियोगिताबाट ७७ हजार २ सय ३० रुपैयाँ बचत भएको छ । यो रकम आगामी वर्ष खेल सञ्चालनमा खर्च गरिने आयोजकले जनाएको छ । खर्च विवरण सार्वजनिक सँगै आयोजकले प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्ने सम्पूर्ण सहयोगीहरू, स्वयंसेवक, खेलाडी तथा खेल प्रेमीहरूलाई धन्यवाद समेत दिएको छ ।
प्रतियोगिताको उपाधि सानीभेरी ३ लाई पराजित गर्दै वडा नम्बर ७ को टिम छोटेबगरले जितेको थियो । प्रतियोगिता सानीभेरी गाउँपालिका भित्रको वडा स्तरीय थियो । एउटा टिमले २ जना खेलाडी भने वडा बाहिरका राख्न पाएका थिए ।
प्रतियोगिताको विजेताले नगद ५० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता हुने समूहलाई नगद ३० हजार सहित मेडल र प्रमाणपत्र पाएको थियो । क्रिकेट विकासमा टेवा पुर्याउने उद्देश्यले गत वर्षबाट प्रतियोगिता आयोजना भइरहेको छ ।