Kakhara सबैको खबर सम्पूर्ण खबर
चौथो निशाना कप: पुरुष भलिबलमा मुसिकोट ७ र महिलामा दार्मा ५ प्रथम 
पुरुष तर्फ प्रथम मुसिकाेट ७ साँख ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ४ खुम्चेरीमा आयोजित चौथो निशाना कप पुरुष भलिबलमा मुसिकोट नगरपालिका ७ प्रथम भएको छ । सोमबार भएको फाइनलमा आयोजकलाई पराजित गर्दै मुसिकोट ७ साँख प्रथम भएको हो । उसले नगद ७५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

द्वितीय बनेको आयोजकले नगद ४५ हजार, ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा त्रिवेणी ५ र सानीभेरी गाउँपालिका ३ सान्त्वना भएका छन् । २ टिमले समान १५ हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेको आयोजक निशाना युवा क्लबले जनाएको छ । 

पुरुष भलिबलमा १२ वटा वडाको सहभागिता रहेको थियो । त्यस्तै महिला भलिबल तर्फ दार्मा गाउँपालिका ५ सल्यान प्रथम भएको छ । बागचौर नगरपालिका ३ सल्यान द्वितीय हुँदा आयोजक र त्रिवेणी ७ रुकुम पश्चिम सान्त्वना भएका छन् । 

महिला तर्फको प्रथमले ४५ हजार नगद सहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले २५ हजार नगदसहित ट्रफी, मेडल प्रमाणपत्र र सान्त्वना हुने दुई टिमले समान १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको आयोजक निशाना युवा क्लबका अध्यक्ष लोकबहादुर बाँठाले जानकारी दिनुभयो । 

महिला भलिबलमा ४ टिमले प्रतिस्पर्धा गरेका थिए । अन्धनाशक माविको प्राङ्गणमा खुला शुद्ध वडा स्तरीय महिला, पुरुष भलिबल, एकल नृत्य र हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो । असोज २३ गतेबाट सुरु भएको प्रतियोगिता हिजो सोमबार सकिएको हो ।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update