
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४, ६ र ११ को सङ्गम स्थल ट्याखोलामा चौथो ट्याखोला कप पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु भएको छ । आज एक कार्यक्रमका बिच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
ट्याखोला खेलकुद सङ्घ मुसिकोट ६ को आयोजनामा सुरु भएको प्रतियोगितामा पुरुष तर्फ २७ र महिला तर्फ ४ टोली सहभागी छन् । आयोजक समितिका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख महेन्द्र केसीको प्रमुख र वडाध्यक्ष भानु मल्लको विशेष आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको पुरुष तर्फको विजेताले नगद ५१ हजार १ सय ५१ रुपैयाँ, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । त्यस्तै उप विजेताले ३१ हजार १ सय ५१ रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष मनोज बुढाथोकीले जानकारी दिनुभयो ।
महिला तर्फको प्रथमले ५ हजार १ सय ५१ रुपैयाँ प्राप्त गर्दा द्वितीयले ३ हजार १ सय ५१ रुपैयाँ प्राप्त गर्ने उहाँले बताउनुभयो । ट्रफि, मेडल र प्रमाण पत्रको समेत व्यवस्था रहेको छ । त्यस्तै व्यक्तिगत इभेन्ट तर्फ वेस्ट प्लेयर, वेस्ट स्ट्राइकर, वेस्ट डिफेन्डर, वेस्ट गोलकिपर र वेस्ट मिडफिल्डरको पुरस्कार समेत रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सेभेन ए साइडको रहेको छ ।