Kakhara सबैको खबर सम्पूर्ण खबर
जेन–जी आन्दोलनका घाइते विजयको नेतृत्वमा बाँफिकोट गाउँपालिकाको ध्यानाकर्षण, के छन् माग ? 

जेन–जीहरूले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् । गत भदौ २३ र २४ गते भएको जेन–आन्दोलनका घाइते विजय अधिकारीको नेतृत्वमा विभिन्न २५ बुँदे माग सहिद आज गाउँपालिकाको ध्यानाकर्षण गराइएको हो । 

सचेत युवाहरूको साझा थलो जेन–जी समूह बाँफिकोटद्वारा गाउँपालिका भित्रका गतिविधिहरू पारदर्शी, शुद्ध जन पक्षीय गराउनका लागि माग गर्दै ध्यानाकर्षण गराइएको छ । गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । 

जेन–जीहरूले शिक्षकलाई राजनीतिबाट पूर्ण रूपमा बन्देज गरी विद्यालयहरूमा शिक्षक राख्दा पार्टीको कार्यकर्तालाई पूर्ण रूपमा बन्देज गर्दै खुल्ला रूपमा सक्षम व्यक्ति छान्न माग गरेका छन् । स्पार्पू ताल संरक्षणको नाममा भइरहेको अतिक्रमण, वरिपरि सडक खनेर ताल पुर्ने र तालको नजिक भवनहरू बनाउने कार्य पूर्ण रूपमा बन्देज गर्दै ताल संरक्षणको योजना प्रकाशित गर्न माग गरिएको छ । 

त्यस्तै पालिकामा हुने गरेको बजेट निर्माण कुन कुन शीर्षकमा भएको हो त्यो पूर्ण रूपमा पारदर्शी र वेबसाइटमा राख्न अनुरोध गरिएको छ भने अनावश्यक खर्चहरू बैठक भत्ता, अतिथि सत्कार, डिजेल पेट्रोल, पत्रिका, कोठा भाडा, यातायातका साधन, सञ्चार खर्चहरू पूर्ण रुपमा कटौती गर्न, पालिकाको आगामी बजेट निर्माण गर्दा प्रत्येक टोल टोलमा गएर सार्वजनिक सुनाई गरेर प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न समेत माग गरिएको छ । 

पालिकाबाट स्यार्पू हाइड्रो पावरमा लगानी भएको रकम बारे जानकारी गराउन, सामुदायिक वन तथा विद्यालयका अध्यक्षहरू स्वतन्त्र र साझा व्यक्तिलाई बनाउन, पालिका भित्र खोलिएका सम्पूर्ण सडकहरू चाँडै सफा गर्न, छिनखेतमा रहेको दुग्ध सहकारी संस्था १५ दिन भित्र सञ्चालन गर्न र यसबारे छानबिन गराउन पनि जेन–जी समूहले माग गरेको छ । 

यसका साथै वडाबाट हुने सिफारिसहरू सबै वडाको एउटै फम्र्याटको हुनुपर्ने, सामाजिक सुरक्षा भत्ता अन्तर्गत वृद्धा भत्ता वडा टोलमै गएर प्रदान गर्नुपर्ने, कृषि उपजको बजार पहुँचको व्यवस्था गर्नुपर्ने, खोला तथा खोल्सामा पैदल यात्रुको लागि पुल निर्माण हुनुपर्ने, खेलकुदको विकास र स्तरोन्नतिको साथै वडा नम्बर २ को खेलमैदान मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउन समेत माग गरिएको छ । 

२०७४ देखि हालसम्मका आर्थिक बजेट विनियोजन भएका स्थान र सो को पूर्ण जानकारी सार्वजनिक हुनुपर्ने, सबै बजारमा बजार व्यवस्थापन समिति बनाई खरिद वा सङ्कलन केन्द्रको स्थापना गर्न र कुलिङ हाउसको उचित व्यवस्थापन गर्न, आपतकालीन स्वास्थ्य तथा एम्बुलेन्स सेवा २४ सै घण्टा सञ्चालन गर्न र सञ्चार सुविधा कमजोर रहेका ठाउँमा सञ्चारको सुविधा पु¥याउन र विद्यार्थीहरूका लागि अनलाइन शिक्षाहरू सञ्चालन पनि जेन–समूहको माग छ । 

त्यस्तै पुराना बिजुलीका पोल र तारहरू विस्थापित गर्दै नयाँ पोल, कालो तार राख्न, खानेपानीका धारा सुक्ने, पाइप फुट्ने वा नियमित आपूर्ति नहुने समस्याको समाधान गर्न, विकास निर्माणका कामहरू समयमै सञ्चालन गरेर प्राविधिकबाट परीक्षण गरी कामको मात्र भुक्तानी दिन, सामुदायिक विद्यालयहरूमा डिजिटल शैक्षिक सामाग्रीबाट पठन पाठन सञ्चालन गर्न र प्रत्येक माविमा विज्ञान र गणित ल्याब, अनिवार्य राख्न माग छ । 

उपभोक्ताले देख्ने गरी मूल्य सूचि, उत्पादन मिति, म्याद नाघेको वस्तु तथा सेवा सम्बन्धी जानकारी दिने व्यवस्था गर्न, जेन–जी उमेर समूहका युवा युवतिहरूमा लोकसेवा÷शिक्षक सेवा सम्बन्धी कक्षाहरू सञ्चालन गर्न र उत्कृष्ट कृषक पुरस्कार, सामुदायिक विद्यालयका उत्कृष्ट ५ विद्यार्थीलाई प्रोत्साहन स्वरूप एम.वि.वि.एस., पाइलट, इन्जिनियर, फरेष्टर लगायत टेक्निकल विषय अध्ययन गर्न निःशुल्क वा सहुलियत ऋणको व्यवस्था गर्न पनि माग गरिएको छ । 

आफूहरूको लक्ष पूर्ण रूपमा भ्रष्टाचारको अन्त्य गर्नु, नातावाद कृपावादको अन्त्य गर्दै पार्टीहरू मिलेर राज्यको दोहन गर्ने परिपाटीको अन्त्य गर्दै जनता प्रति जबाफदेही पारदर्शी भएको र सबै पक्षको सुधारको आन्दोलनको लागि शान्ति पूर्ण कानुनमा अडिग भएर उभिएको जेन–जी समूह बाँफिकोटका संयोजक विजय अधिकारीले बताउनुभयो । 

भ्रष्टलाई जबाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनिक प्रणालीलाई साँच्चिकै कानुनी र राजनीतिक हस्तक्षेप विहीन बनाउने गरी भ्रष्टाचारीलाई निस्प्रभावित पार्न सकियोस् र न्याय शान्ति र विकास सम्भव होस भन्ने आफूहरूको मिसन रहेकामा सोही अन्तर्गत गाउँपालिकाको ध्यानाकर्षण गराइएको उहाँको भनाई छ ।

gen-z-(2)-1760527366.jpeg

gen-z-(1)-1760527366.jpeg

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update