रुकुम पश्चिममा आयोजित एक कार्यक्रमका सहभागीहरूले तत्कालीन द्वन्द्वका घाउ कोट्याउने भन्दा पनि निको पार्ने तर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले जिल्ला सदरमुकाम मुसिकोटमा आयोजना गरेको कार्यक्रमका सहभागीहरूले द्वन्द्वका घाउलाई कोट्याउँदै जाने हो भने समाज अर्को द्धन्द तर्फ धकेलिने जोखिम रहेकोले द्वन्द्वका घाउलाई निको पार्न आवश्यक रहेकामा जोड दिएका थिए ।
द्वन्द्वबाट समाज नै प्रभावित भएकोले अब आरोप प्रत्यारोप र इख राखेर नभई दुवै पक्षको सहमतिमा मेलमिलाप गराएर द्वन्द्वका मुद्दालाई सुल्झाउनुपर्ने सहभागीहरूको जोड थियो । मानव अधिकार आयोगले जिल्लास्थित स्थानीय तह, राजनीतिक दल, पीडित तथा सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा सहभागी राजनीतिक दलहरूले द्वन्द्वका घाउ निको पार्न र दुवै पक्षलाई जीतको महसुस हुने गरी काम हुनुपर्ने र आफूहरू त्यसमा गम्भीर रहेको बताएका थिए । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले द्धन्दका मुद्दालाई हल गर्न पार्टी गम्भीर रहेको र मेलमिलाप तथा न्याय निरूपण लगायतका काममा पार्टीले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
जिल्लामा अधिकांश द्वन्द्व प्रभावितले राहत तथा परिपूरणको सेवा पाइसकेको भए पनि मेलमिलापका सन्दर्भमा अझै केही समस्याहरू रहेको र सत्य तथ्य छानबिन गरी जघन्य अपराध गरेकालाई कारबाही हुनुपर्छ भन्ने पीडितको माग रहेको बताउनुभयो । साथै उहाँले सहिद, घाइते अपाङ्ग तथा बेपत्ताका परिवारका लागि परिचयपत्रको माग आफ्नो पार्टीले गरिरहेको र यसतर्फ सरकारलाई ध्यानाकर्षण गराउन आयोग समक्ष माग गर्नुभयो ।
नेपाली काँग्रेसका जिल्ला उप सभापति हर्कसिंह खत्रीले द्वन्द्व कालका रिसिइबि र पीडा पुस्तान्तरण हुँदै गइरहेको तर्फ चिन्ता व्यक्त गर्नुभयो । अब समाधानको बाटोमा जानुपर्ने बताउँदै उहाँले दुवै पक्षलाई सँगै बसालेर मेलमिलाप गराएर उक्त पीडा भुलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । तर्क र वितर्कले समाज थप द्वन्द्वमा जाने उहाँको भनाई छ ।
नेकपा एमालेका जिल्ला सचिव शशीराम नेपालीले राज्यको उदासीनताका कारण वास्तविक पीडितले राहत तथा न्याय पाउन नसकेको बताउनुभयो । यसमा दलहरू समेत गम्भीर रूपमा चुकेको उहाँले बताउनुभयो ।
स्थानीय सरकारका प्रमुख तथा अध्यक्षहरूले पालिका मार्फत द्धन्द पीडितका पक्षमा काम गरिरहेको र उनीहरूको न्यायका लागि आयोग वा सरकारलाई सहयोग आवश्यक परे सहयोग गर्न तयार रहेको बताएका छन् ।
मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले द्वन्द्व प्रभावितको आयआर्जन, सीप विकास, स्वास्थ्य बिमा लगायतमा सहयोग गरिरहेको बताउनुभयो । चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले सहिद परिवार तथा द्वन्द्व प्रभावितका लागि नगर बसमा निःशुल्क यात्राको व्यवस्थाका साथै सहिद प्रतिष्ठान, सहिद पार्क निर्माण, सहिद परिवारलाई सम्मान सहित आयआर्जनमा जोड्ने काम गरेको बताउनुभयो ।
आठबिसकोट नगरपालिका प्रमुख रवि केसीले सहिद, घाइते अपाङ्ग तथा बेपत्ताको सम्मान हुने गरी सडकको नामकरण, चोकको नामकरण, नगर प्रहरीमा अवसर, सम्मान तथा आयआर्जनका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभएको छ । त्यस्तै सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले ४ वटा सहिद पार्क, सम्मान, आयआर्जनका कार्यक्रममा समान अवसर, निःशुल्क स्वास्थ्य बिमा र विभिन्न सिफारिस, घाइतेको उपचारका लागि सहयोग तथा पीडित परिवारका बालबालिकालाई छात्रवृत्तिको समेत व्यवस्था गरिरहेको जानकारी गराउनुभयो ।
त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले पनि सहिद, घाइते अपाङ्ग तथा बेपत्ताहरूको सम्मान हुने गरी पालिकाले विभिन्न काम गरिरहेको बताउनुभयो । पालिकाका प्रमुख तथा अध्यक्षहरूले पनि घाउ बल्झाउने नभई सुल्झाउनुपर्नेमा जोड दिएका थिए । द्वन्द्वको विषयलाई जति धेरै तन्कायो समाज त्यति नै द्वन्द्वमा जाने डर रहेकोले अब पुरानो पीडालाई भुल्नुको विकल्प नभएको बताएका थिए ।
पूर्व स्थानीय शान्ति समितिका संयोजक देवीलाल गौतमले समेत द्धन्दका अवशेषहरू अझै बाँकी रहेकोले तिनलाई हल गर्न सबै पक्षको हातेमालो आवश्यक रहेको बताउनुभयो । राजनीतिक दलहरूकै कारण जिल्लाका सबै वास्तविक पीडितले न्याय पाउन नसकेको समेत उहाँले बताउनुभयो । कार्यक्रममा द्वन्द्व प्रभावितहरूले अझै पूर्ण रूपमा न्यायको महसुस गर्न नपाएको र समाजमा पूर्ण रूपमा सहज वातावरण बन्न नसकेको बताएका थिए ।
कार्यक्रमको सहजीकरण राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत खीमानन्द बस्यालले गर्नुभएको थियो । द्वन्द्वका घाउलाई बल्झाउने भन्दा पनि भएका समस्यालाई सबैको हातेमालोबाट हल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा आयोगका अधिकृत पूजा न्यौपानेको समेत उपस्थिति रहेको थियो ।





-1759842583.jpg)