
रुकुम पश्चिमको मुसिकोट १ खलङ्गामा सञ्चालित धार्मिक महायज्ञ सम्पन्न भएको छ । वडा नम्बर १ बराहटाकुरामा आयोजित ऐतिहासिक श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ बिहीबार सकिएको हो । महायज्ञ बुद्ध भूमि मानव सेवा आश्रमको आयोजनामा असोज २२ गतेबाट सुरु भएको थियो ।
अभिभावक विहीन बेवारिसे वृद्ध वृद्धा, मनोरोगी, अनाथ, अपाङ्ग, अशक्त असहाय र विपन्न व्यक्तिहरूको पालनपोषणका लागि महायज्ञ आयोजना गरिएको आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीले जानकारी दिनुभयो । मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा रहेको आश्रमले हाल यस्ता व्यक्तिहरूको पालनपोषण गरिरहेको छ ।
महायज्ञमा विभिन्न व्यक्तिहरूले दान गरेका थिए । आश्रमका लागि रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले जग्गा दान गर्नुभएको छ । उहाँ सहित महायज्ञ मार्फत आश्रमलाई सहयोग गर्ने सबै दानदाताहरूलाई आश्रमले धन्यवाद दिएको छ ।
महायज्ञको आय व्यय विवरण कार्तिक २ गते मुसिकोट १ खलङ्गाको कालिका स्थानमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिने अध्यक्ष जैसीले बताउनुभयो । उक्त कार्यक्रममा सहभागीताका लागि उहाँले सबै राजनीतिक दल, समाजसेवी, व्यापारी, बुद्धिजीवी तथा पत्रकार लगायतलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।
महायज्ञमा पितृ मुक्ति, धार्मिक, सांस्कृतिक, तुला दान, भूमि दान गर्न सकिने व्यवस्था गरिएको थियो । त्यस्तै महायज्ञमा सवा करोड दीप प्रज्वलन समेत गरिएको थियो । साथै हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म पूजा पाठ गरिएको थियो । महायज्ञ सप्ताहमा प्रमुख बाचकको रूपमा आचार्य पण्डित नारायण खनाल रहनुभएको थियो ।