Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा सञ्चालित धार्मिक महायज्ञ झन्डै ४ लाख घाटामा 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गाको बराहटाकुरामा आयोजित धार्मिक महायज्ञ घाटामा गएको छ । असोज २२ गतेबाट सुरु भएको महोत्सव असोज ३१ सम्म सञ्चालन भएको थियो । बुद्ध भूमि मानव सेवा आश्रमले आश्रममा रहेका अभिभावक विहीन बेवारिसे वृद्ध वृद्धा, मनोरोगी, अनाथ, अपाङ्ग, अशक्त असहाय र विपन्न व्यक्तिहरूको पालनपोषणका लागि महायज्ञ आयोजना गरेको भए पनि महायज्ञ उल्टै झन्डै ४ लाख घाटामा गएको हो ।

महायज्ञको आय अर्थात् आम्दानी तर्फ ६ लाख १० हजार ७१ रुपैयाँ रहेको छ भने व्यय अर्थात् खर्च तर्फ ९ लाख ८१ हजार ६ सय ७० रुपैयाँ रहेको बुद्ध भूमि मानव सेवा आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञबाट आश्रमलाई ३ लाख ७१ हजार ५ सय ९९ रुपैयाँ घाटा लागेको छ । आश्रम सञ्चालनका लागि महायज्ञ आयोजना गरिएको भए पनि उल्टै ऋणमा थपिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । महायज्ञको आम्दानीमा दैनिक दान तथा भेटी रहेको थियो ।

खर्च तर्फ भने सबै भन्दा बढी गुरु दक्षिणामा ४ लाख र टेन्ट भाडामा २ लाख खर्च भएको आश्रमले उपलब्ध गराएको खर्च विवरणमा उल्लेख छ । अन्य खर्चमा होटेल व्यवस्थापन, पूजा सामग्री, प्रचारप्रसार, गाडी भाडा, खाद्यान्न सामग्री, प्रचार सामग्री लगायत रहेको खर्च विवरणमा खुलाइएको छ । केही रकम बचाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको भए पनि सोचे अनुसार दान नहुँदा घाटा भएको अध्यक्ष जैसीको भनाई छ ।

आश्रमले जग्गा प्राप्ति तथा आर्थिक सहयोग सङ्कलनको उद्देश्य राखेर महायज्ञ सञ्चालन गरेको थियो । आर्थिक रूपमा घाटा बेहोरेको आश्रमले जग्गा भने दुई ठाउँमा प्राप्त गरेको छ । रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्का र चौरजहारी नगरपालिकाले आश्रमलाई जग्गा उपलब्ध गराएका हुन् । खड्काले मुसिकोट नगरपालिका वडा नम्बर ५ डाँडीगाउँमा र चौरजहारी नगरपालिकाले चौरजहारी वडा नम्बर २ अस्पताल नजिक जग्गा उपलब्ध गराएको जैसीको भनाई छ ।

महोत्सव समग्र रूपमा भने सफल भएको र घाटा रकम पूर्तिका लागि सोचिरहेको उहाँले बताउनुभयो । जिल्लावासी सबैको सहयोगमा घाटा पूर्ति गर्ने उहाँको विश्वास छ । मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा रहेको आश्रममा अभिभावक विहीन बेवारिसे वृद्ध वृद्धा, मनोरोगी, अनाथ, अपाङ्ग, अशक्त असहाय र विपन्न व्यक्तिहरूको पालन पोषण भइरहेको छ । विशेष गरी बजार क्षेत्रमा बेवारिसे अवस्थामा रहेका सडक मानवहरूलाई उद्धार गरेर आश्रममा राखिएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update