
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४, ६ र ११ नम्बर वडाको सङ्गम स्थल ट्याखोला खेल मैदानमा आयोजित चौथौँ ट्याखोला कप सम्पन्न भएको छ । कप पुरुष तर्फ यूनिक ब्वाइज खलंगा र महिला तर्फ अर्गनाइजरले जितेको छ ।
हिजो भएको फाइनलमा पुरुष तर्फ योंग ब्वाइज खलङ्गालाई नै ४–१ गोलले पराजित गर्दै यूनिक ब्वाइजले उपाधि जितेको हो । विजेता यूनिक ब्वाइजले नगद ५१ हजार १ सय ५१ रुपैयाँ, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उप विजेता योंग ब्वाइजले ३१ हजार १ सय ५१ रुपैयाँ पुरस्कार पाएको आयोजक ट्याखोला खेलकुद सङ्घका अध्यक्ष मनोज बुढाथोकीले जानकारी दिनुभयो ।
महिला तर्फ मुसिकोट गल्र्सलाई पराजित गर्दै अर्गनाइजर विजेता बनेको हो । उसले ५ हजार १ सय ५१ रुपैयाँ प्राप्त गर्दा द्वितीयले ३ हजार १ सय ५१ रुपैयाँ प्राप्त गरेको छ । ट्रफि, मेडल र प्रमाण पत्रको समेत व्यवस्था रहेको थियो । एक कार्यक्रमका बिच प्रतियोगिताको समापन गरिएको हो ।
ट्याखोला खेलकुद सङ्घका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रमको सञ्चालन अमरबहादुर महताराले गर्नुभएको थियो । ट्याखोला खेलकुद संघले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गरिरहेको छ ।