Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा देखिएनन् प्लास्टिकका माला 

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गा लगायतका बजारमा यो वर्ष प्लास्टिकका माला देखिएका छैनन् । मुसिकोट नगरपालिकाले यो वर्षको तिहारलाई लक्षित गर्दै प्लास्टिकका माला बिक्री गर्न प्रतिबन्ध लगाएको छ । सोही अनुसार यो वर्ष बजारमा प्लास्टिकका माला देखिएनन् । 

गत वर्षहरूका तिहारमा बजारै भरी प्लास्टिकका माला थुप्रो पाइन्थे । तर यो वर्ष भने खलङ्गा लगायतका बजारमा व्यापारीहरूले प्लास्टिकका माला ल्याएका छैनन् । प्लास्टिकका मालाले बजार भरिभराउ हुने बेलामा यो वर्ष भने त्यस्तो दृश्य देखिएन । नगरपालिकाले कारबाही गर्ने चेतावनी दिएपछि व्यापारीहरू नगरपालिकाको निर्णय विरुद्ध गएनन् । 

नगरपालिकाले स्थानीय फूलको प्रवर्द्धनका लागि भन्दै प्लास्टिकका मालामा प्रतिबन्ध लगाएको जनाएको छ । तर यो वर्ष बजारमा स्थानीय फूलको व्यापार समेत देखिएको छैन । नगर प्रमुख महेन्द्र केसीले बजारमा पाइने प्लास्टिकका मालाले जिल्लाबाट ठुलो रकम बाहिर गइरहेकोले यो वर्ष प्लास्टिकका मालामा प्रतिबन्ध लगाइएको बताउनुभयो । 

यसबाट स्थानीय फूलको मालाको व्यापार बढ्ने र प्लास्टिकका मालाबाट जिल्ला बाहिर जाने रकम रोकिएर जिल्लावासीको आर्थिक स्रोतमा समेत सुधार आउने विश्वास सहित नगरपालिकाले यस्तो निर्णय गरेको नगरपालिकाले जनाएको छ । प्लास्टिकका माला बजारमा नआए पनि स्थानीय मालाको व्यापार समेत देखिएन ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update