Kakhara सबैको खबर सम्पूर्ण खबर
असोज २० गतेदेखि बेपत्ता गङ्गा  झुन्डिएको अवस्थामा मृत फेला

गत असोज २० गतेदेखि बेपत्ता रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ डाँडाछिवाङकी एक युवति मृत फेला परेकी छन् । २५ बर्सिया गङ्गा सार्की असोज २० गते साँझ करिब ५ बजेदेखि बेपत्ता हुनुभएको थियो ।

आज बिहान उहाँ गाउँ देखि १ किलोमिटर टाढाको जङ्गलमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान जङ्गल गएका स्थानीयले गन्ध आएपछि खोजी गर्दा रूखमा झुन्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव सडेको अवस्थामा रहेकोले बेपत्ता भएकै दिन झुन्डिएको हुनसक्ने अनुमान गरिएको छ ।

अहिले घटनास्थलमा प्रहरी निरीक्षक पुन सहितको टोली खटिएको छ । शवको मुचुल्का उठाइरहेको र त्यसपछि शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइने उहाँले बताउनुभयो ।

घटनाको अनुसन्धान समेत सुरु गरेको प्रहरीले जनाएको छ ।  रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ माइतीघर भएकी गङ्गा घाँस काट्न भनेर जङ्गल गएको र त्यसपछि सम्पर्क विहीन हुनुभएको थियो ।

गङ्गाले अन्तिम पटक भारतमा रहेका श्रीमानसँग कुरा गरेको र फोनमा सामान्य विवाद समेत भएको बुझिएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update