रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ९ भेडाखेतमा पुरुष भलिबल सहित विभिन्न खेलकुद प्रतियोगिता हुने भएका छन् । परम्परागत भेडाखेत मेलाको अवसरमा मेला व्यवस्थापन समितिले वडा स्तरीय पुरुष भलिबल, छेलो, महिला रसाकसी, घैँटो फोर र भाले तान्ने प्रतियोगिता आयोजना गरेको हो ।
पुरुष भलिबलको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष कर्णबहादुर ओलीले जानकारी दिनुभयो । उप विजेताले ५७ हजार १ सय नगद पुरस्कार पाउँदा सान्त्वना हुने २ टिमले समान २५ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् । दर्ता शुल्क ७ हजार ५ सय तोकिएको छ ।
भलिबलमा उत्कृष्ट खेलाडी र उत्कृष्ट स्पाइकर समेत छनोट गरेर पुरस्कृत गरिने अध्यक्ष ओलीले बताउनुभयो । छेलोमा प्रथमले ३ हजार ५ सय, द्वितीयले २ हजार ५ सय र सान्त्वनाले १ हजार ५ सय, रसाकसीको प्रथमले ३ हजार ५ सय र द्वितीयले २ हजार, घैँटो फोरको प्रथमले २ हजार ५ सय तथा भाले तान्नेमा प्रथमले रातो भाले प्राप्त गर्ने बताइएको छ ।
साथै मेलामा सहभागी पञ्चेबाजा र मयुर नाच समूहलाई प्रोत्साहन स्वरूप समान ५ हजार तथा सिंगारु नाच र स्थानीय मौलिक कला सहित सहभागी टिमलाई प्रोत्साहन स्वरूप समान ४ हजार प्रदान गरिने अध्यक्ष ओलीको भनाई छ । प्रतियोगिता कार्तिक १२ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ । मेला भने कार्तिक १५ गते लाग्ने छ ।




-1759842583.jpg)