Kakhara सबैको खबर सम्पूर्ण खबर
जिप दुर्घटना अपडेट: घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार हुँदै

रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ७ लिस्ने स्थित भित्री सडक खण्डमा भएको दुर्घटनाका घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार चलिरहेको छ । अहिलेसम्म ८ जनालाई जिल्ला अस्पताल पुर्याइएकाे जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो । जसमध्येमा ६ जनाकाे नाम खुलेको छ । जसमा चालक सहित रहेका छन् । 

घाइतेमा चालक जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका २ बस्ने वर्ष ३४ का टोपजंग बुढा (शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम), रुकुम पश्चिम आठविसकोट नगरपालिका २ मा वर्ष १७ कि सङ्गीता बुढा ( अवस्था मध्यम), सोही ठाउँकी वर्ष १७ की अञ्जना ऐरी (अवस्था मध्यम), वर्ष २० की महिमा ओली (अवस्था मध्यम), आठबिसकाेट १ बस्ने वर्ष १७ की सिर्जना बुढा (अवस्था मध्यम) र सोही ठाउँकी वर्ष १५ की सपना नेपाल (अवस्था मध्यम) रहेका छन् । अन्य घाइतेलाई पनि अस्पताल ल्याइँदै छ ।

दुर्घटनामा अहिलेसम्म ७ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । जसमा ६ जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकाेट नगरपालिका २ स्यालाकी ३० बर्सिया कमला ओली, आठबिसकाेट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ बर्सिया दिलमाया बुढा, १७ बर्सिया मनिका ओली, १८ बर्सिया शर्मिला वि.क., २२ वर्षीय गोपाल ओली रहेको प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । १ जनाको सनाखत भएको छैन ।

यसअघि ८ जनाको मृत्यु भएको जानकारी प्राप्त भए पनि प्रहरीले भने ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । १० जना घाइते भएका छन् । खलङ्गाबाट स्यालाखदी तर्फ गइरहेको रा १ ज ४२२ कने जिप बाँफिकाेट ७ मा दुर्घटना भएको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update