Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट ७ जिप दुर्घटना अपटेडः चालक पक्राउ, थप २ जनालाई नेपालगन्ज पठाइयो 
दुर्घटनाग्रस्त जिप र दुर्घटनास्थल ।

रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ७ लिस्ने स्थित भित्री सडक खण्डमा भएको दुर्घटनाका जिप चालकलाई प्रहरीले पक्राउ गरेको छ । चालक मुसिकोट नगरपालिका वडा नम्बर २ का ३४ वर्षीय टोपजंग बुढा पनि घाइते हुनुभएको थियो । जिल्ला अस्पतालमै उपचाररत चालक बुढालाई अवस्था सामान्य रहेपछि घटनाको अनुसन्धानका लागि हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा उपचारपछि डिस्चार्ज हुने अवस्थामा पुगेका चालक बुढालाई घटनाको अनुसन्धानका लागि हिरासतमा राखिएको उहाँले बताउनुभयो । यस्तै थप २ जना घाइतेलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ । आठबिसकोट नगरपालिका वडा नम्बर २ की १९ बर्सिया शान्ति बुढा र सोही वडाकै १७ बर्सिया मनीषा थापालाई थप उपचारका लागि जिल्ला अस्पताल सल्लेबाट आज नेपालगन्ज पठाइएको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । उहाँका अनुसार सिटी स्क्यान गर्नुपर्ने भएकोले नेपालगन्ज पठाइएको हो ।

आठबिसकोट नगरपालिका वडा नम्बर १ की १८ बर्सिया जुना बुढालाई हिजै राति नेपालगन्ज पठाइएको थियो । जुना र शान्तिको अवस्था मध्यम छ भने मनिषाको अवस्था सामान्य रहेको बताइएको छ । घाइते मध्ये अन्य ६ जनाको भने जिल्ला अस्पताल सल्लेमै उपचार भइरहेको छ भने अवस्था सामान्य र मध्यम रहेको उहाँले बताउनुभयो । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाबाट आठबीसकोट नगरपालिकाको स्यालाखदी तर्फ गइरहेको रा १ ज ४२२ को जिप बाँफिकोट ७ मा दुर्घटना भएको हो । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेकाहरू मण्डली (चर्च)बाट घर फर्किँदै थिए । उनीहरू जिल्लाको त्रिवेणी गाउँपालिका सिम्रुतुस्थित चर्चबाट फर्किँदा दुर्घटनामा परेका हुन् । यसैबिच मृतक सबैको पोस्टमार्टम सकिएको प्रहरीले जनाएको छ । पोस्टमार्टम गरेर शव आफन्तलाई जिम्मा लगाइएको र आफन्तले शव बुझेर लिने प्रक्रियामा रहेको सूचना अधिकारी प्रहरी निरीक्षक पुनको भनाई छ ।

दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका हुन् । ७ जनाको घटनास्थलमै र १ जनाको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो ।  

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update