रुकुम पश्चिम र पूर्वमा भोली देखि मध्यपहाडी लोकमार्ग बन्द हुने भएको छ । सडक मर्मतका लागि रुकुम पश्चिम र पूर्वको सिमानामा पर्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने साँख देखि रानीकोटसम्मको सडक खण्ड भोलीदेखि कार्तिक ३० गतेसम्मका लागि बन्द हुनेभएको हो । सडक मर्मतको कार्य बाँकी रहेकाले उक्त सडक खण्ड पूर्ण रूपमा बन्द गरेर मर्मत गर्न लागिएको हो ।
मध्यपहाडी लोकमार्ग बन्द हुने भएपछि बैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै प्रशासनले खलङ्गाबाट रुकुमकोट पुग्न वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको हो ।
बन्द रहने अवधिमा साना सवारी साधनको हकमा रानीकोट–किटनी–साँख खण्डमा प्रयोग हुने सवारी साधनहरूका लागि वैकल्पिक मार्ग खलङ्गा–राउखेत–छिङ–नाथिगाड–धाउन्ने हुँदै रुकुमकोट सडक खण्ड प्रयोग गर्न प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जारी गरेको सूचनामा उल्लेख छ ।
त्यस्तै ठुला सवारी साधनहरूको हकमा खलङ्गा–बाँफिकोट–पिपल–पोखरा–रुकुमकोट सडक खण्ड प्रयोग गर्न अनुरोध गरिएको छ । रुकुम पूर्वमा पनि यसअघि नै सडक बन्द गरेर मर्मत गर्ने निर्णय भइसकेको थियो । रुकुम पश्चिममा पर्ने खण्डका लागि कार्तिक २ गतेको बैठकले सडक बन्द गरेर मर्मत गर्ने निर्णय भएको थियो । पश्चिम र पूर्वको खण्डमा एकै पटक मर्मत कार्य चल्ने छ ।
रुकुम पश्चिम र पूर्वमा पर्ने मध्यपहाडी लोकमार्गको अधिकांश खण्ड कालोपत्रे भइसक्दा पनि रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ को किटिनी देखि रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ को किटिनीसम्मको खण्ड भने स्तरोन्नति हुन सकेको छैन ।
जसका कारण जोखिम माेलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । अन्य ठाउँमा डबल कटिङको काम समेत लगभग सकिएको अवस्थामा किटिनीको भिरमा कटानकै काम बाँकी रहेको छ । चट्टानै चट्टान रहेको उक्त ठाउँमा कटिङको लागि जोखिम रहेको छ । जसका कारण उक्त ठाउँमा साँघुरो बाटोमा उच्च जोखिम मोलेर सवारी साधन आउजाउ गरिरहेका छन् ।






-1759842583.jpg)