Kakhara सबैको खबर सम्पूर्ण खबर
डिग्रे मेला सुरु, मुख्य मेला १९ गते
फाइल फाेटाे ।

रुकुम पश्चिमको प्रसिद्ध धार्मिक डिग्रे मेला आज देखि सुरु भएको छ । मुसिकोट नगरपालिका, ५–थर्पुमा रहेको डिग्रे साइकुमारी मन्दिर परिसरमा आज हरिबोधिनी एकादशी देखि मेला सुरु भएको डिग्रे मन्दिर व्यवस्थापन समितिले जनाएको छ । हरेक वर्ष कार्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने भए पनि एकादशी देखि नै मेला सुरु हुन्छ । 

यो वर्ष कार्तिक १९ गते मुख्य मेला परेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो । हरेक वर्ष ५ दिन मेला लाग्ने गर्दछ । आज मन्दिरमा पूजा पाठ, जग्गे लगायत भएको अध्यक्ष केसीले बताउनुभयो । 

यो मन्दिरमा वर्षैभर पूजाआजा र बलि चढाउने भए पनि हरिबोधिनी एकादशी देखि पूर्णिमासम्म विशेष तरिकाले पूजाआजा हुन्छ भने बलि चढाउनेको सङ्ख्या पनि धरै हुन्छ । एकादशीदेखि चतुर्दशीसम्म विशेष पूजाआजा हुन्छ भने पूर्णिमाको दिन भव्य मेला लाग्ने गर्दछ । 

आज एकादशीका दिन र पूर्णिमाको दिन बलि चढाउन नमिल्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केसीले बताउनुभयो । तर पूजाआजा भने एकादशी देखि पूर्णिमाको दिनसम्मै हुन्छ । बलि बोलीबाट सुरु भई १८ गतेसम्म ३ तीन चल्ने छ । 

यस मन्दिरमा मेला अवधिमा मात्र करिब १ हजार बढी बोकाको बली चढ्ने गरेको छ भने करिब १ लाख जना दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजापाठ गर्ने गरेको मन्दिर व्यवस्थापन समिति बताउँछ । मेला आज देखि सुरु भए पनि मन्दिरमा भने केही दिन देखि चहलपहल बढिसकेको थियो । 

डिग्रे मेला कर्णाली प्रदेशकै ठुलो धार्मिक मेला मध्येको एक हो । यस मन्दिरमा रुकुम पश्चिमसँगै छिमेकी जिल्ला रुकुम पूर्व, जाजरकोट, सल्यान, रोल्पा, दाङ, सुर्खेतसँगै अन्य जिल्लाका भक्तजनहरू पनि मेला भर्न तथा दर्शनका लागि आउने गर्दछन् । 

भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुग्ने गरेको मन्दिर व्यवस्थापन समितिको भनाई छ । डिग्रे साइकुमारी मन्दिरमा दर्शन तथा पूजाआजा गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ । यो मेला परापूर्व काल देखि नै लाग्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update