रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा ताला लगाइएको छ । सोही विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थी सङ्घले विद्यालय सुधार सम्बन्धी आफूहरूले राखेका माग विद्यालय प्रशासनले व्यवास्था गरेको भन्दै आज विद्यालयको मूल गेटमा ताला लगाएको हो । यही कात्तिक ९ गते विभिन्न माग राख्दै पूर्व विद्यार्थी सङ्घले विद्यालयलाई ३ दिनको अल्टिमेटम दिएको थियो । अल्टिमेटम दिएको समय भन्दा बढी समय बित्दा पनि विद्यालय प्रशासनले मागहरूको कुनै सम्बोधन नगरेकाले विद्यालय सुधारको लागि आजदेखि ताला लगाएको पूर्व विद्यार्थी सङ्घका अध्यक्ष विशाल केसीले जानकारी दिनुभयो ।
‘‘विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक सुधारका लागि यसअघि विद्यालय प्रशासन समक्ष विस्तृत माग पत्रसहित तीन दिने अल्टिमेटम पेस गरेका थियौँ । तर तोकिएको समय सीमाभित्र विद्यालय प्रशासनले कुनै ठोस निर्णय वा कार्यान्वयन नगरेकाले, हामी विद्यार्थी र पूर्व विद्यार्थीहरूले आजदेखि विद्यालय प्रशासनमा तालाबन्दी गरेका छौँ केसीले भन्नुभयो ।’’ विद्यालय प्रशासनको निष्क्रियता र विद्यालय सुधारप्रति देखिएको उदासीनताविरुद्ध विद्यार्थी र समुदायको दबाबको रूपमा तालाबन्दी गर्नुपरेको उहाँको भनाई छ ।
अध्यक्ष केसीका अनुसार विद्यालय सुधारको लागि विद्यालय परिसरभित्र सुलभ शुल्कमा कोचिङ कक्षा सञ्चालन गर्नुपर्ने, कक्षा ११ र १२ को अत्यधिक शुल्कको पुनरावलोकन र परिमार्जन गर्नुपर्ने, हरेक कक्षामा डिजिटल बोर्डको व्यवस्था हुनुपर्ने, विज्ञान प्रयोगशालाको स्तरीय र स्थायी व्यवस्था हुनुपर्ने माग राखिएको छ । त्यस्तै विद्यार्थीहरूको अध्ययनका लागि कम्प्युटर ल्याबको अनिवार्य व्यवस्था हुनुपर्ने, पुस्तकालय (लाइब्रेरी) को अद्यावधिक र स्थायी व्यवस्था हुनुपर्ने, विद्यालयको सरसफाइ र वातावरणीय व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने, विद्यार्थीहरूको सुविधा र स्वास्थ्यका लागि क्यान्टिन (दिवा खाजा) को व्यवस्था गर्नुपर्ने, रिक्त विषय विशेषज्ञ शिक्षकहरूको तत्काल नियुक्ति गर्नुपर्ने माग राखिएको छ । त्यस्तै गरी भाडामा दिइएका विद्यालय भवनहरू खाली गरी विद्यालय प्रयोजनमा प्रयोग गर्नुपर्ने, जीर्ण अवस्थामा रहेका विद्यालय भवनहरूको मर्मत संभार तथा आवश्यक परे पुनर्निर्माण गर्नुपर्ने, विद्यालय परिसरमा लामो समयदेखि अस्तव्यस्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रको पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने माग राखिएको छ ।
सबै मागहरू विद्यालय, विद्यार्थी र समुदायको हितका लागि भएको र विद्यालय प्रशासनले ती मागहरू सम्बोधनका लागि ठोस पहल नगरेकाले ताला बन्दी गरिएको केसीका भनाइ छ । तालाबन्दी र आन्दोलनका सबै कार्यक्रमहरू पूर्ण रूपमा शान्तिपूर्ण, जिम्मेवार र विद्यालय हितमुखी ढङ्गले सञ्चालन गरिने उहाँले बताउनुभयो । विद्यालय प्रशासनले तत्काल मागहरू सम्बोधन गरी संवाद र समाधानको बाटो रोज्न समेत आग्रह गरिएको छ । विद्यालय प्रशासनले आफूहरूलाई छलफलको लागि दिउँसो ३ बजे बोलाएको उहाँले बताउनुभयो । विद्यालयले प्रशासनले पनि छलफलको लागि पूर्व विद्यार्थी सङ्घलाई वार्तामा आउन भनेको जनाएको छ ।
विद्यालय तालाबन्दी पश्चात् पूर्व विद्यार्थी सङ्घ र हाल विद्यालयमा अध्ययनरत विद्यार्थीहरू मुसिकोट नगरपालिकाले विद्यालयमा लामो समयसम्म शिक्षक रिक्त हुँदा पनि शिक्षक नियुक्ति गर्न ढिलाइ गरेको भन्दै शिक्षक नियुक्ति तत्काल गर्नुपर्ने माग सहित नगरपालिका पुगेका छन् । माग सम्बोधन नभए आन्दोलन जारी राख्ने पूर्व विद्यार्थी सङ्घ त्रिजमाविले जनाएको छ ।
यसैबिच यी माग पूरा गर्न माग गर्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आज खलङ्गा बजारमा र्याली निकालेका थिए । उनीहरूले विद्यालय सुधारको माग सहित विभिन्न नारा लगाएर खलङ्गा बजार परिक्रमा गरेका थिए ।





-1759842583.jpg)