Kakhara सबैको खबर सम्पूर्ण खबर
डिग्रे मेला जाँदा र फर्किदा फरक फरक बाटो, थाहा पाउनुहोस् कुन बाटो जाने, कुन बाटो फर्किने ?

रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मन्दिर सवारी साधनमा जान र फर्किनका लागि फरक फरक बाटो प्रयोग गर्नुपर्ने भएको छ । सम्भावित सवारी जामलाई मध्यनजर गर्दै सहज आवागमणका लागि जाँदा र फर्किदा फरक फरक बाटो तोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कार्तिक १७ गते देखि १९ गतेसम्म डिग्रे साइकुमारी मन्दिरको दर्शन गर्न जाँदा मठ–बारेगौरा तथा खलंगा–रावलबारा हुँदै जान सकिने छ । फर्किदा भण्डारीकाँडा–शितलपोखरी रुटबाट फर्किनुपर्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख शैलेन्द मल्लले जानकारी दिनुभयो । साथै डिग्रेमा तोकिएका स्थानमा मात्र पार्किङ गर्न पनि आग्रह गरिएको छ ।

अनिवार्य रूपमा यो नियम पालना गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ । मुसिकोट नगरपालिकाले यस विषयमा निर्णय गरेको उहाँको भनाई छ । साथै पार्किङ स्थलमा सवारी साधनहरू अस्त व्यस्त नबनाई व्यवस्थित पार्किङको व्यवस्था मिलाई सवारी साधन राख्न र अव्यवस्थित पार्किङ र तोकिएको सडक मार्गको प्रयोग नगरेको खण्डमा अनिवार्य रूपमा ट्राफिक नियमानुसार कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले चेतावनी दिएको छ ।

मेला अवधिमा ठुलो सङ्ख्यामा सवारी साधन प्रयोग हुने भएकोले बर्सेनि सवारी व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update