रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेपाली सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ५ जनाले सेवा लिएका छन् । चण्डी दल गण सल्लेले बिहीबार वडा नम्बर २ मा सञ्चालन गरेको शिविरबाट उक्त सङ्ख्यामा शिविरबाट स्थानीयले निःशुल्क सेवा लिएका हुन् ।
शिविरबाट स्वास्थ्य परीक्षण, परामर्श सेवाका साथै निःशुल्क औषधि वितरण गरिएको चण्डी दल गण सल्लेले जनाएको छ । चण्डी दल गणले १९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वय तथा चौरजहारी नगरपालिका, जिल्ला अस्पताल र साझा मुराल अस्पतालको सहयोगमा शिविर सञ्चालन गरेको थियो । शिविरबाट २ सय १६ जना महिला र ८८ जना पुरुषले लिएको चण्डी दल गणका गणपति विनिस श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार २३ जना भूतपूर्व सैनिक, १२ जना बहालवाला सैनिक, २६८ जना सर्वसाधारण तथा सैनिकका आफन्तजन र एक जना प्रहरी रहेका छन् ।
शिविरबाट स्त्री रोग जाँच तथा उपचार, परामर्श सेवा, स्वास्थ्य परीक्षण तथा औषधि वितरण लगायतका सेवा प्रदान गरिएको गणपति श्रेष्ठले जानकारी दिनुभयो । चौरजहारी नगरपालिकामा शिविर आयोजना गरी स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने नेपाली सेनाको चण्डी दल गणलाई चौरजहारी नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।






-1759842583.jpg)