Kakhara सबैको खबर सम्पूर्ण खबर
यातायात कार्यालय चौरजहारीमा जेन जी आन्दोलनपछि रोकिएको चालक अनुमति पत्र सेवा सुचारु

यातायात व्यवस्था सेवा कार्यालय रुकुम पश्चिममा रोकिएको चालक अनुमति पत्र वितरण सेवा सुरु भएको छ । गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको केन्द्रीय सर्भर सिस्टममा क्षति पुगेपछि चालक अनुमति पत्र वितरण सेवा रोकिएको थियो । 

केन्द्रीय सर्भरमा क्षति भई रोकिएका चालक अनुमति पत्र सम्बन्धीका सबै सेवा आजबाट सुचारु भएका यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले जनाएको छ । अब नियमित रूपमा सवारी चालक अनुमति पत्र वितरण लगायत सेवाहरू प्रवाह हुने कार्यालय प्रमुख मोहनकुमार केसीले जानकारी दिनुभयो । 

सेवा सुचारु भइसकेकोले आवश्यक सेवा लिन उहाँले सबैलाई अनुरोध समेत गर्नुभएको छ । साथै ट्रायल पास भई रसिद लिन नपाएका सेवाग्राहीहरूले आजै देखि रसिद लिन सक्ने समेत उहाँले बताउनुभयो । छुटेका सेवाग्राहीलाई कार्यालयमा आफै आएर लिन उहाँको आग्रह छ । 

त्यस्तै नयाँ चालक अनुमति पत्रका लागि यसअघि जस्तै वेबसाइटमा गएर फारम भर्न सकिने कार्यालयले जनाएको छ । यस कार्यालयबाट विशेष गरी रुकुम पश्चिम, रुकुम पूर्व, जाजरकोट, सल्यान, डोल्पा, सुर्खेत लगायत ठाउँका नागरिकहरूले सेवा लिइरहेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update