Kakhara सबैको खबर सम्पूर्ण खबर
बेलटापु मेला मंसिर १ गतेबाट, २ लाखको पुरुष र ७५ हजारको महिला भलिबल हुने
फाइल फाेटाे ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ को बेलटापुमा हरेक वर्ष झैँ यस वर्ष पनि विविध खेलकुद सहित चार दिन मेला लाग्ने भएको छ । परम्परागत रूपमा लाग्दै आएको बेल्टापु मेला यही मंसिर १ गतेदेखि ४ गतेसम्म लाग्ने भएको हो । मेलाको अवसरमा खुला वडा स्तरीय पुरुष भलिबल र महिला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । 

‎खुला शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा विजेता हुने समूहले नगद २ लाख ‎एक हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेला व्यवस्थापन समितिका अध्यक्ष पुष्प मगरले जानकारी दिनुभयो । त्यस्तै उपविजेता हुने समूहले एक लाख ४० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तृतीय स्थान हासिल गर्ने टिमले ७० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मगरले बताउनुभयो । 

महिला पुरुष दुवै तर्फका उत्कृष्ट खेलाडीलाई समान २ हजार ५ सय सहित ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै महिला भलिबलको विजेताका लागि नगद ७५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ । उपविजेताले ५० हजार  रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तृतीयले ३० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाउने बताइएको छ । 

‎पुरुष तर्फ दर्ता शुल्क १० हजार रहेको छ भने महिला तर्फ ५ हजार तोकिएको खेल संयोजक भिमप्रकाश विकले जानकारी दिनुभयो । मेला अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उपस्थितिमा सांस्कृतिक कार्यक्रम समेत हुने छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update