Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा जेन–जी हरूसँग छलफल 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका जेन जी युवाहरू बिच छलफल भएको छ । पछिल्लो समसामयिक विषयमा युवाहरू बिच छलफल भएको हो । अग्रज र जेन जी युवाहरू बिचको छलफल मुख्य गरी युवाहरूको क्षमता विकास, युवाहरूलाई सकारात्मक पथमा हिँडाउने र युवाहरू समाजका हरेक क्षेत्रमा नेतृत्व गर्ने अवस्थामा पुग्नुपर्नेमा केन्द्रित भएको थियो ।

समाज परिवर्तनको मूल मार्ग राजनीति भएकोले युवाहरूलाई रचनात्मक रूपमा राजनीतिमा पनि कसरी जोड्ने भन्ने विषयमा छलफल भएको थियो । नेताहरूको पछि लाग्ने मात्र नभई अब निर्णायक र हस्तक्षेपकारी भूमिकामा युवाहरू देखिनुपर्नेमा छलफलको जोड छ । साथै जेन जी आन्दोलनको उद्देश्य सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि अब जिल्लाबाट पहल थाल्नुपर्ने विषयमा पनि छलफल भएको थियो ।

छलफलमा बोल्दै रुकुम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले युवाहरूले अब यो वा त्यो राजनीतिक दल मात्र नभनेर साझा मुद्दामा सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । जेन जी आन्दोलनले देशमा वर्षौँ देखि राज गरिरहेका दलहरू सडकमा आउन बाध्य भएको भन्दै उहाँले अब युवाहरू चनाखो नहुने हो भने त्यो आन्दोलनका उपलब्धि खेर जाने अवस्था पनि देखिरहेको उहाँले बताउनुभयो ।

gen-z-khalanga-1762776749.jpg
युवाहरूले अब सुशासन कायम र भ्रष्टाचार नियन्त्रणको आन्दोलनमा अघि बढ्नुका साथै नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । साथै उहाँले उमेरले पाका र अनुभवी व्यक्ति तथा जेन जीहरूको सहकार्यमा समेत जोड दिनुभयो । त्यस्तै युवा अगुवा एल बि कटुवालले सबै भन्दा ऊर्जाशील समय यही भएकोले सकारात्मक पथमा लम्किँदै समाजका हरेक क्षेत्रमा युवाहरूले नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

जेन जी र अन्य युवाहरूको सहकार्यबाट अघि बढ्न सके सफलता प्राप्त गर्न सकिने भन्दै उहाँले आफू जेन जीहरूको साथमा रहेको पनि उहाँले बताउनुभयो । छलफलमा खलङ्गाका युवाहरूले अघि बढाइरहेको ब्रो कोटमा आबद्ध तथा अन्य युवाहरूको उपस्थिति रहेको थियो । जेन जी आन्दोलनपछि जिल्लामा युवाहरूको खासै बसाई हुन नसकिरहेको अवस्थामा युवाहरूलाई एकताबद्ध गर्ने उद्देश्यले छलफल राखिएको छलफल कार्यक्रमका पहलकर्ता जनक विश्वकर्माले जानकारी गराउनुभयो । 

 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update