रुकुम पश्चिममा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४७ गुल्म हेडक्वार्टर प्रहरी कर्मचारीहरूका लागि एक दिने प्राथमिक उपचार सम्बन्धी अनुशिक्षण तालिम सम्पन्न भएको छ ।
मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत मेहर परियोजना रुकुम पश्चिमको आयोजनामा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरूका लागि एक दिने प्राथमिक उपचार सम्बन्धी अनुशिक्षण तालिम सम्पन्न भएको हो ।
समुदायमा आइपर्ने विपद्का घटनाहरूको उद्धार, तथा शान्ति सुरक्षाको क्षेत्रमा अग्रपंतिमा खटिने प्रहरी कर्मचारीहरूलाई आगलागी, सर्पको डसाई, रक्तस्राव, हातखुट्टा भाँचिएको, सिपिआर, बेसिक लाइफ सपोर्ट लगायतका बारेमा जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको मेहर परियोजनाका संयोजक कुमेर परियारले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बलका २५ जना सिनियर अधिकृत तथा जवानहरूको सहभागिता रहेको तालिमको सहजीकरण चौरजहारी अस्पतालका मेडिकल अधिकृत डाक्टर रुबेन साहु, हेल्थ असिस्टेन्ट काशीराम नेपाली र स्टाफ नर्स सुष्मा गोसाइँले गर्नु भएको थियो।
तालिममा सैद्धान्तिक तथा व्यावहारिक अभ्यास समेत गरिएको बताइएको छ । तालिम समापन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल ४७ नम्बर गुल्मका गुल्म पति जगदिशचद्र हमाल, मेहर परियोजना संयोजक कुमेर परियार, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मी, वित्तीय अधिकृत विष्णु पुन लगायतको उपस्थिति रहेको थियो ।





-1759842583.jpg)