रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालय सुधार हुँदै गएको पूर्व विद्यार्थी संघले जनाएको छ । संघले विद्यालय सुधारको लागि आन्दोलन गरेपछि विद्यालयमा सुधार हुँदै गएको जनाएको हो । पुर्व विद्यार्थी संघको आन्दोलनपछि विद्यालयमा विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याब स्थायी रूपमा सञ्चालनमा आएको पूर्व विद्यार्थी संघका उपाध्यक्ष अनिसेश केसीले बताउनुभयो ।
त्यस्तै विद्यालयमा पुस्तकालय (लाइब्रेरी) सुधार र अद्यावधिक गरिएको, लामो समयदेखि बन्द रहेको विद्यालयभित्रको स्वास्थ्य केन्द्र सञ्चालनमा आएको उहाँले बताउनुभयो । त्यसैगरी लामो समयदेखि रिक्त रहेका विषय–विशेषज्ञ शिक्षकहरूको नियुक्ति प्रक्रिया सुरु भएको, विद्यालयभित्रै सुलभ शुल्कमा कोचिङ कक्षा सञ्चालनका लागि अभिभावकहरूसँग छलफल सम्पन्न हुनुका साथै विद्यालय प्रशासनको जानकारी अनुसार, मंसिर १ गतेदेखि कोचिङ कक्षा सुरु हुने उहाँले बताउनुभयो । विद्यायभित्रै शुलभ शुल्कमा कोचिङ कक्षा संचालन भएमा विद्यार्थीलाई आर्थिक रुपमा पनि केही सहज हुने अपेक्षा गरिएको छ ।
पूर्व विद्यार्थी संघको आन्दोलनपछि भएका सुधार विद्यार्थी, अभिभावक, शिक्षक र पूर्वविद्यार्थीको साझा प्रयासको नतिजा भएको संघले जनाएको छ । साथै विद्यालय सुधारका लागि साथ सहयोग पुर्याउने सवैलाई पूर्व विद्यार्थी संघ त्रिजमाविले धन्यवाद ज्ञापन गरेको छ । विद्यालय सुधारका विभिन्न माग राख्दै सोही विद्यालयमा अध्यनरत विद्यार्थी, पूर्व विद्यार्थीले कात्तिक १६ गते विद्यालय तालाबन्दी तथा बजार परिक्रमासहित मुसिकोट नगरपालिकाको कार्यालयमा पुगेर माग पत्र बुझाएका थिए ।





-1759842583.jpg)