जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर २ लाई नगरपालिकाको चौथो बाल विवाह निषेधित वडाको रूपमा घोषणा गरिएको छ । नेपालको राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार बाल विवाहलाई निषेधित गरे पनि बाल विवाह कायमै छ ।
नगरपालिकाका ग्रामीण बस्ती तथा समुदायहरूमा बाल बालिकाहरू अझै पनि उमेर नपुगी विवाह गर्ने चलन कायमै रहेका कारण वडामा विभिन्न जनचेतनामूलक र प्रतिबन्धात्मक कार्यक्रमहरू सञ्चालन गर्दै बाल विवाह न्यूनीकरण भएका कारण वडालाई बाल विवाह मुक्त वडा निर्माण गर्नका लागि बाल विवाह निषेधित वडा घोषणा गरिएको हो ।
छेडागाड नगरपालिकाको वडा नम्बर २ को कार्यालय प्राङ्गणमा वडाध्यक्ष बालकृष्ण बुढाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका सदस्य खडकबहादुर बुढाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकाय, नगरपालिका स्थित विषयगत कार्यालयका प्रमुखहरु, पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका सदस्य गीता शाही, पत्रकार स्थानीय राजनीतिकर्मीहरू, जन प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक, अभिभावक, बाल बालिका तथा सर्वसाधारण गरी १ हजार बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा सचिवले स्वागत गर्नुभएको थियो भने वडाध्यक्ष बुढाले बाल विवाह निषेधित वडाको घोषणा पत्र सार्वजनिक गर्नुभएको थियो भने कार्यक्रमका सहभागीहरूले यसको दिगोपनाका लागी साझा प्रतिबद्धता समेत जारी गरी हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा बाल बालिकाहरूद्वारा बाल विवाह अन्त्यका लागी खबरदारी गर्न विभिन्न जनचेतनामूलक प्रस्तुतिहरू सडक नाटक, लोक गीत, लोक नृत्य, लगायतका कार्यक्रमहरू भएका थिए ।
वडालाई बाल विवाह निषेधित गर्न वडामा बाल संरक्षण प्रणालीको सुदृढीकरण गर्न र बाल विवाह विरुद्ध सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न स्थानीय सरकारलाई पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेन सँगको सहकार्यमा सञ्चालन भएको सहयात्रा तेस्रो र बालिका सशक्तीकरण कार्यक्रमले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आइरहेका छन् ।
यस परियोजना अन्तर्गत नीति निर्माण देखि अन्य विभिन्न सचेतनामूलक कार्यक्रमहरू भइरहेका परियोजनाका व्यवस्थापक लोकमणि गिरीले जानकारी दिनुभयो । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि जिसस सदस्य खडकबहादुर बुढा लगायतले आगामी दिनमा बाल विवाह नगर्न नगराउन र यदि कहीँ कतै गरेको पाइएमा कानुनी सजायबाट उन्मुक्ति हुन नहुनेमा जोड दिनुभएको थियो ।





-1759842583.jpg)