रुकुम पश्चिमको मुसिकोट खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको शुद्धतामा कुनै कमजोरी नरहेको बताएको छ । शुद्ध खानेपानी वितरणमा संस्था गम्भीर रहेको र अहिलेसम्म शुद्धतामा कुनै सम्झौता नगरिएको संस्थाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ ।
केही दिन देखि सामाजिक सञ्जालमा खानेपानी वितरण भइरहेको फिल्टरमा गम्भीर लापरबाही भइरहेको र बालबालिका गएर पौडी खेल्ने तथा फोहोर गरिरहेको भन्दै भिडिओहरू पोस्ट भइरहेका थिए । उक्त सामग्रीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको संस्थाले जनाएको छ ।
नकारात्मक सन्देश जाने गरी सामाजिक सञ्जालमा भ्रम फैलाउने काम भएको भन्दै यसमा कुनै सत्यता नरहेको र भ्रममा नपर्न उपभोक्ता तथा आम नागरिकहरू र सरोकारवाला निकायलाई अध्यक्ष टोपबहादुर नेपालीले आग्रह गर्नुभएको छ ।
यो संरचना नेपाल सरकारबाट साना सहरी खानेपानी आयोजना अन्तर्गत निर्माण भएको र सबै संरचना मापदण्ड अनुसार रहेकोले गुणस्तरमा कुनै कमी नरहेको उहाँले बताउनुभएको छ ।
मुसिकोट नगरपालिका १ मठ नजिकै घ्यु खोलामा रहेको स्लोसेन्ट फिल्टरमा विभिन्न मुहानबाट पानी ल्याई जम्मा गर्ने र जम्मा भएको पानी फिल्टर भई मुनिको चेम्बरबाट सफा पानी निस्कने प्रक्रिया रहेको तथा सो पानी वितरण भइरहेको अध्यक्ष नेपालीले विज्ञप्ति मार्फत जानकारी गराउनुभएको छ ।
फिल्टर प्राविधिक नियमानुसार खुला नै हुनुपर्ने भएकोले खुला नै रहेको र उक्त फिल्टरमा पौडी खेल्ने अवस्था नै नरहेको संस्थाले स्पष्ट पारेको छ ।
‘फिल्टर आसपासमा निर्माणको काम जारी नै रहेको र कामदार खाजा खान निस्किएको अवस्थामा कार्तिक २७ गते शनिवार फिल्टर नजिकै रहेको मुहानमा नुहाएर घाम ताप्न फिल्टर रहेको ठाउँमा गएकामा त्यसैलाई भिडिओ खिचेर अनावश्यक प्रचार भएको छ, यसमा कुनै सत्यता छैन, यदि कोही फिल्टरमा पस्यो भने बाहिर आउने अवस्था नै छैन, त्यस कारण पौडी खेल्ने अवस्था नै रहेन, अन्य फोहोरको सम्बन्धमा त्यहाँ कुनै फोहोर गरेको देखिएन,’ संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
निर्माणको काम चलिरहेकोले सो फिल्टरमा मान्छेहरू जान सक्ने अवस्था भने रहेको र त्यसमा पनि आजबाट काम सुरु भएको अध्यक्ष नेपालीको भनाई छ । अब बाहिरबाट कसैलाई पनि जान नसक्ने गरी तारबारको काम भइरहेको उहाँले बताउनुभयो ।
साथै उहाँले यो विषयलाई अतिरञ्जित नगर्न र प्रत्यक्ष रूपमा पुगेर अनुगमन गर्न तथा सुझाव दिन मिडिया तथा सरोकारवालाहरूलाई आग्रह समेत गर्नुभएको छ । यस आयोजनाले रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटका विभिन्न ठाउँहरूमा खानेपानी वितरण गरिरहेको छ ।





-1759842583.jpg)