Kakhara सबैको खबर सम्पूर्ण खबर
शेरिगाउँमा सुविधा सम्पन्न होटेल श्री सञ्चालनमा

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ को शेरिगाउँमा सुविधा सम्पन्न होटेल श्री सञ्चालनमा आएको छ । युवा व्यवसायी मनोज खड्काले होटेल सञ्चालनमा ल्याउनुभएको हो । आज एक कार्यक्रमका बिच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले होटेलको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी लगायतको उपस्थिति रहेको थियो । 

रुकुम पश्चिमको सबैभन्दा सुविधा सम्पन्न र स्तरीय होटेल सञ्चालनमा ल्याएको सञ्चालक खड्काले बताउनुभयो । जिल्लामै पहिलो पटक स्विमिङ पुल तथा अन्य व्यवस्थापनका हिसाबले पनि स्तरीय होटेल सञ्चालनमा ल्याएको उहाँको भनाई छ । करिब १ करोड बढीको लागतमा शेरिगाउँस्थित मुसिकोट नगर कार्यपालिकाको कार्यालय भन्दा माथि पट्टी होटेल सञ्चालनमा ल्याएको खड्काले बताउनुभयो । 

व्यवस्थापन सहित स्वागत सत्कार र समग्र हस्पिटालिटिमा विशेष ध्यान दिइएको उहाँले बताउनुभयो । ‘अब मान्छेहरूले खान र बस्न मात्र नभई राम्रो स्वागत सत्कार र व्यवहार पनि खोज्नुहुन्छ, हामीले यसमा विशेष ध्यान दिएका छौँ, उहाँले भन्नुभयो ।’ 

यसले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उहाँको विश्वास छ । ‘डोल्पाको शे–फोक्सुन्डो पुग्न रुकुम पश्चिम ट्रान्जिटका रूपमा रहेको छ, पोखरा, दाङ, नेपालगन्ज लगायतका ठाउँबाट शे–फोक्सुन्डो पुग्ने पर्यटकहरूलाई राम्रो अतिथि सत्कारका साथमा मुसिकोटमा स्वागत गर्ने हाम्रो लक्ष हो,’ खड्का भन्नुहुन्छ । 

गुणस्तरीय र सुलभ सेवा दिने आफूहरूको उद्देश्य रहेको सञ्चालक खड्काले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update