रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर २ बगर स्थित भेरी नदीमा गत शुक्रवार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका १६ वर्षीय समीर अन्सारीको तालिम प्राप्त गोताखोरसहितको टोलीले खोज कार्य थालेको छ । आज बिहानदेखि कर्णाली प्रदेश सुर्खेतबाट आएको तालिम प्राप्त गोताखोरसहितकाे टोलीले भेरी नदीमा खोज कार्य सुरु गरेको हो ।
गोताखोर टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल , जनप्रतिनिधि लगायत स्थानीयवासीले बेपत्ता समीरको खोज कार्य गरिरहेको प्रहरीले जनाएको छ । समीर शुक्रवार दिउँसो साथीहरूसँग पौडी खेल्न गएको बेला बेपत्ता भएका थिए । चौरजहारी नगरपालिका १ मा व्यवसाय गर्दै आउनुभएका राजु अन्सारीका १६ वर्षीय छोरा समीर चौरजहारीस्थित भ्याली पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययनरत थिए ।
उनको स्थायी घर भने बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ सल्यानी बङ्गालामा रहेको प्रहरीले जनाएको छ । उनको परिवार लामो सयमयदेखि चौरजहारी नगरपालिका १ मा व्यवसाय गर्दै आएको थियो । चार दिनसम्म पनि बेपत्ता समीर फेला नपरेपछि आजदेखि गोताखोरसहितको टोलीले खोज कार्य थालेको हो ।





-1759842583.jpg)