फागुन २१ गतेका लागि तोकिएको निर्वाचनका लागि रुकुम पश्चिममा नयाँ मतदाता नामावली दर्तामा युवाहरूको उपस्थिति राम्रो देखिएको छ । जेन जी आन्दोलनपछि प्रतिनिधि सभा विगठन भई अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन तोकेको छ ।
जसका लागि अहिले देशभरिमा मतदाता नामावली दर्ताको कार्यक्रम चलिरहेको छ । कार्तिक मसान्तसम्मका लागि समय तोकिएकोमा मङ्सिर १ गते देखि ५ गतेसम्मका लागि समय थप गरिएको छ । त्यस्तै पछिल्लो पटक राष्ट्रिय परिचय पत्रका आधारमा घरबाटै पनि अनलाइन मार्फत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
जसअनुसार रुकुम पश्चिममा पनि निर्वाचन कार्यालयमै गएर तथा घरबाटै मतदाता नामावली दर्ता भइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी ओमबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार असोज १० गतेबाट सुरु भएको मतदाता नामावली दर्ता अन्तर्गत आजसम्म ११ सय ६२ जना नयाँ मतदान थपिएको उहाँले बताउनुभयो ।
अधिकांश मतदाता युवाहरू रहेको उहाँको भनाई छ । यसमा कार्यालयमै पुगेर नाम दर्ता गराउने तथा कार्यालयमै पुगेर अनलाइन मार्फत नाम दर्ता गराउनेहरू छन् । तर घरबाटै अनलाइन मार्फत नाम दर्ता गराएकाहरूको विवरण भने अहिले कार्यालयसँग नरहेको सूचना अधिकारी खत्रीले बताउनुभयो ।
जेन जी आन्दोलनपछि राजनीतिमा युवाहरूको चासो बढेकोमा त्यसको प्रभाव रुकुम पश्चिममा पनि देखिएको छ । त्यस्तै यस अवधिमा १ सय २१ जनाले त्रुटि सच्याएका छन् भने १ सय ३९ जनाले ठाउँ सारी गरेका छन् । सबै गरेर १४ सय ८३ जनाले सेवा लिएको निर्वाचन कार्यालयले जनाएको छ ।
सरकारले दिएको विशेष समय सकिन अब केही दिन मात्र बाँकी रहेकोले उमेर पुगेर पनि नामावलीमा नाम दर्ता नभएकाहरूलाई कार्यालयमा पुगेर तथा अनलाइन मार्फत नै नाम दर्ता गराई मताधिकार प्रयोग गर्न जिल्ला निर्वाचन कार्यालय प्रमुख मोहनलाल केसीको अनुरोध छ ।
मतदाता सङ्ख्या जतिसक्दो थप्ने गरी कार्यालय लागि परेको उहाँको भनाई छ । प्रचार प्रसार देखि जिल्ला स्थित सरोकारवालाहरुसँग समन्वय तथा सहकार्य गरिरहेको उहाँले बताउनुभयो ।
निर्वाचनको मिति तोकिएपछि मतदाता नामावली दर्ता कार्यक्रम बन्द हुने भएपनि यस पटक विशेष परिस्थिति रहेको भन्दै सरकारले निर्वाचन मिति तोकिएपछि पनि निश्चित समय दिएर मतदाता नामावली दर्ता खुलाएको हो । मददाता नामावली दर्ता कार्यक्रम मङ्सिर ५ गतेसम्म सञ्चालन हुने छ ।
जिल्लामा नयाँ थपिएका बाहेक कुल मतदाता सङ्ख्या १ लाख ४ हजार २ सय ३९ रहेको छ । जसमा पुरुष ५२ हजार ७ सय ८८ जना रहेका छन् भने महिला ५१ हजार ४ सय ५० तथा अन्य मतदाता १ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै जिल्लामा ७६ वटा मतदान स्थल रहेका छन् ।





-1759842583.jpg)