जिल्ला अस्पताल रुकुम पश्चिममा कार्यरत ल्याब असिस्टेन्ट गङ्गाराम ओलीले जन्मदिनको अवसरमा विद्यार्थी तथा शिक्षकहरूको निःशुल्क रक्त परीक्षण गर्नुभएको छ । ओलीले मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा रहेको सरस्वती माविका विद्यार्थी तथा शिक्षकहरूको आज निःशुल्क रक्त परीक्षण गर्नुभएको हो ।
आफ्नो जन्मदिन रचनात्मक काम गरेर मनाउने लक्ष अनुसार विद्यार्थी तथा शिक्षकहरूको रक्त परीक्षणको सेवा दिएको ओलीले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक खम्बुसिंह थापाका अनुसार २ सय ८१ जना विद्यार्थी र १७ जना शिक्षकहरूको रक्त परीक्षण गरिएको छ ।
विद्यार्थी तथा शिक्षकहरूको रक्त समूह परीक्षणका साथै युरिक एसिड र सुगरको समेत जाँच गरिएको उहाँले बताउनुभयो । शिक्षा र स्वास्थ्यप्रतिको संवेदनशीलतालाई ध्यानमा राखेर जन्मदिनजस्तो व्यक्तिगत अवसरलाई सामाजिक सेवामा रूपान्तरण गरेको भन्दै विद्यालयले ओलीको सेवा भाव प्रति खुसी व्यक्त गरेको छ ।
यस उदाहरणीय, समाजसेवी र प्रेरणादायी योगदानप्रति उच्च प्रशंसा गर्दै विद्यालयले ओलीलाई धन्यवाद ज्ञापन समेत गरेको छ । यस किसिमको पहलले विद्यार्थीमा स्वास्थ्यप्रति सजगता बढाउने र विद्यालय–समुदायबिचको सहकार्य अझ मजबुत हुने विद्यालय प्रशासनले विश्वास लिएको छ ।
जन्मदिनमा फजुल खर्च गर्ने र भड्किलो रूपमा मनाउने अवस्थालाई निरुत्साहित गरी सामाजिक सेवा भाव जागृत गर्न सहयोग पुगोस् भनेर आफूले सकेको गरेको ओलीले बताउनुभयो । ओली उक्त विद्यालयको पूर्व विद्यार्थी समेत हुनुहुन्छ ।





-1759842583.jpg)