Kakhara सबैको खबर सम्पूर्ण खबर
अमेरिकाबाट ३५ नेपाली डिपोर्ट, अधिकांश रुकुम र दाङ तिरका 

अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौँ आइपुगेका छन् । डिपोर्ट भएर आएका अधिकांश जसो तल्लो बाटोबाट गएकाहरू छन् । एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पङ्गेनीले बताउनुभयो । ती विद्यार्थी कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरीत काम गरेको पाइएपछि फर्काइएको पाइएको पङ्गेनीले बताउनुभयो । अर्का एक जना भने भिजिट भिसामा गएर काम गर्न थालेपछि पक्राउ परेर डिपोर्ट भएको पाइएको पंगेनीको भनाई छ ।

बाँकी ३३ जना भने अवैध तरिकाले तल्लोबाट अमेरिका पुगेकाहरू छन् । यसरी जानेहरूले ८० लाख रुपैयाँसम्म तिरेको पाइएको छ । विभिन्न देश हुँदै अवैध तरिकाले छिरेको २ वर्षपछि पनि अमेरिकाले डिपोर्ट गरेको छ । फर्काइएकाहरू अधिकांश जसो रुकम/दाङतिरका रहेको प्रहरीले बताएको छ । दाङका मात्रै १६ जना रहेकाे बताइएकाे छ । यसरी फर्काइएकाहरूले जाहेरी दिने भने मानेका छैनन् ।

डाेनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि २ सय बढी नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् । अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेदेखि आप्रवासन नीतिलाई कडाइका साथ लागू गरिएको छ । अक्टोबर महिनामा मात्रै अमेरिकाबाट ३८ जना नेपाली डिपोर्ट भएका थिए, जसमा ४ जना महिला र ३४ जना पुरुष थिए । 

गत जनवरीमा ट्रम्पले पदभार सम्हालेपछि ६ जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो । त्यस्तै, फेब्रुअरीमा १८ जना, मार्चमा ३२ जना, अप्रिलमा २६ जना, मेमा ५८ जना, जुनमा ४२ जना, जुलाईमा १७ जना, अगस्टमा १६ जना र सेप्टेम्बरमा ५३ जना नेपाली डिपोर्ट भएका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update