Kakhara सबैको खबर सम्पूर्ण खबर
चाैरजहारीकाे नवाै नगर कप तथा १७ औँ राष्ट्रपति रनिङ शिल्ड सुरू

रुकुम पश्चिमको चौरजहारी नगरपालिका स्तरीय नवौँ नगर प्रमुख कप तथा सत्रौँ राष्ट्रपति रनिङ शिल्ड सुरु भएको  छ ।

चौरजहारी नगरपालिका वडा नम्बर ११ को  हिमालय नमुना मावि खाेलागाउँकाे व्यवस्थापन र चौरजहारी नगरपालिकाको आयोजनामा चिन्ने बगर खेल मैदानमा  आजबाट  नगर कप तथा शिल्ड सुरु भएको हो । कप तथा शिल्ड मंसिर ६ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । 

‎नगरपालिका  स्तरीय  नगर कप तथा राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशक समितिको कार्तिक १६ गतेको निर्णय अनुसार आज देखि कप तथा शिल्ड सुरु भएको नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टिकाजंग ओलीले जानकारी दिनुभयो । 

‎प्रतियोगितामा पालिकाभरिका माध्यमिक तथा आधारभूत गरी १२ विद्यालयहरूको सहभागिता रहेको छ । शिल्डमा दौड, उफ्रने र फ्याँक्ने, भलिबल, कबड्डीमा प्रतिस्पर्धा भइरहेको छ । छात्र, छात्रा भलिबल, छात्र, छात्रा  १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार दौड मिटर तथा विभिन्न दुरीको रिले दौडमा विद्यार्थीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । 

‎त्यस्तै छात्र, छात्रा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुटमा पनि प्रतिस्पर्धा गरिरहेका छन् ।

‎चौरजहारी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत टिकाजंग ओलीले सञ्चालन गरेको उद्घाटन कार्यक्रमको अध्यक्षयता चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले गर्नुभएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य राजकुमार शर्माको  प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विभिन्न वडाका वडाध्यक्षहरू,  राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रअ शिक्षक तथा विद्यार्थीहरुकाे उपस्थिति रहेको थियो ।

‎यो शैक्षिक सत्रमा नगर कप तथा  राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने चौरजहारी नगरपालिका जिल्लाको दोस्रो स्थानीय तह बनेको छ । 

‎नगर कप तथा रनिङ शिल्ड उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले शिक्षामा किताबी ज्ञान भन्दा खेलकुद क्षेत्रले अनुशासन मर्यादित र कर्तव्यनिष्ठ बनाउने बताउनुभयाे ।
‎ 
युवाहरूलाई खेलकुद क्षेत्रमा जोड्न भौतिक संरचना खेलमैदान र खेल सामग्री लगायतमा सरकारले लगानी गर्नुपर्ने उहाँको भनाइ रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  २१:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update