Kakhara सबैको खबर सम्पूर्ण खबर
बेल्टापु मेला भलिबलको उपाधि टिम भुवन सानीभेरी ४ लाई 
फाेटाेः नारायण ओली ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ मा बेल्टापु मेलाको अवसरमा आयोजित पुरुष भलिबल टिम भुवन सानीभेरी ४ ले जितेको छ । बेल्टापु खेल मैदानमा आज भएको फाइनलमा सानीभेरी ३ को टिम खनाललाई ३–२ को सेटमा पराजित गर्दै टिम भुवनले उपाधि हात पारेको हो । २–० ले पछि परेको अवस्थामा टिम भुवनले उत्कृष्ट पुनरागमन गरेको हो ।

पहिलो र दोस्रो सेट गुमाएको सुरेन्द्र केसी सामेल टिम भुवनले त्यसपछि तीन सेट लगातार जित्दै उपाधि जितेको हो । पहल गहतराज सामेल टिम खनालले सुरुका २ सेटमा उत्कृष्ट खेल प्रदर्शन गरे पनि त्यसपछि भने लय गुमाउन पुगेको थियो ।

विजेता टिमले नगद २ लाख ‎एक हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेला व्यवस्थापन समितिका अध्यक्ष पुष्प मगरले जानकारी दिनुभयो । त्यस्तै उपविजेताले एक लाख ४० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको उहाँले बताउनुभयो । प्रतियोगितामा टिम लेक बेसी सुर्खेत तेस्रो बनेको छ । उसले ७० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । 

त्यस्तै महिला तर्फको उपाधि दार्मा यूथ क्लब सल्यानले जितेको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गर्दै दार्मा यूथ क्लब विजेता बनेको हो । उसले नगद ७५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले ५० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकको भनाई छ । प्रतियोगितामा बागचौर सल्यान तृतीय भएको छ ।

उसले ३० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाएको बताइएको छ । मेलाको अवसरमा हरेक वर्ष भलिबल लगायतका प्रतियोगिता तथा कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको छ । मेला भने हिजो सकिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update