रुकुम पश्चिममा २८ सय बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज १० गतेदेखि मंसिर ५ गतेसम्म जिल्लामा कुल २८ सय ३७ जना नयाँ मतदाता थपिएका हुन् । फागुन २१ गतेका लागि तोकिएको निर्वाचनका लागि सरकारले सुरुमा कार्तिक मसान्तसम्मका लागि मतदाता नामावली दर्ताको समय तोकेको थियो ।
मतदाता नामावली दर्ता गर्नेको भीड देखिन थालेपछि ५ दिन समय थप गरेको थियो । उक्त समय मंसिर ५ गते शुक्रवार सकिएको छ । जिल्लामा नागरिकता भन्दा राष्ट्रिय परिचय पत्रबाट मतदाता नामावली दर्ता गर्नेहरूको सङ्ख्या धेरै रहेको छ ।
कार्यालयमै पुगेर नागरिकताबाट १२ सय ३८ जनाले नामावलीमा नाम दर्ता गरेकामा राष्ट्रिय परिचय पत्रका आधारमा घरमै बसिबसी वा कार्यालय नपुगी १५ सय ९९ जनाले नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर जयराम केसीले जानकारी दिनुभयो ।
यद्यपि अनलाइन मार्फत नाम दर्ता गराएकाहरूको परीक्षण चलिरहेकोले दोहोरिएकाहरूको सङ्ख्या घट्न सक्ने भएकोले त्यसबारेमा केही दिनमा स्पष्ट हुने उहाँले बताउनुभयो ।
सरकारले निर्वाचन कार्यालयहरूमा नामावली दर्ता गराउनेहरूको भीड बढ्न थालेपछि नयाँ मतदाताको सङ्ख्या बढाउने उद्देश्यले कार्तिक २६ गते राष्ट्रिय परिचय पत्र भएकाहरूको लागि राष्ट्रिय परिचय पत्रकै आधारमा घरमै बसेर अनलाइन मार्फत नामावली दर्ताको व्यवस्था मिलाएको थियो ।
सोही अनुसार जिल्लामा पनि ठुलो संख्यामा मतदाता थपिएका हुन् । जिल्लामा थपिने मतदातामा अधिकांश युवा रहेको बताइएको छ । जेन जी आन्दोलनपछि राजनीतिमा युवाहरूको चासो बढेकोमा त्यसको प्रभाव रुकुम पश्चिममा पनि देखिएको छ ।
यसैबिच जिल्ला निर्वाचन कार्यालयबाट यो अवधिमा १ सय ३९ जनाले त्रुटी सच्याएका छन् भने २ सय २९ जनाले ठाउँ सारी गरेको कम्प्युटर अपरेटर केसीले बताउनुभयो ।
जिल्लामा नयाँ थपिएका बाहेक कुल मतदाता सङ्ख्या १ लाख ४ हजार २ सय ३९ रहेको छ । जसमा पुरुष ५२ हजार ७ सय ८८ जना रहेका छन् भने महिला ५१ हजार ४ सय ५० तथा अन्य मतदाता १ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै जिल्लामा ७६ वटा मतदान स्थल रहेका छन् ।
त्यस्तै देशभरमा ८ लाख ४४ हजार ९ सय ५६ जना नयाँ मतदाता थपिएका छन् । जसमा राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनबाट मात्र ४ लाख ९२ हजार १ सय ८० जना मतदाता थप भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनको मिति तोकिएपछि मतदाता नामावली दर्ता कार्यक्रम बन्द हुने भए पनि यस पटक विशेष परिस्थिति रहेको भन्दै सरकारले निर्वाचन मिति तोकिएपछि पनि निश्चित समय दिएर मतदाता नामावली दर्ता खुलाएको थियो ।





-1759842583.jpg)