रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । आज एक कार्यक्रमका बिच वडा नम्बर ३ को धैरेनीचौर खेलकुद मैदानमा नगर प्रमुख महेन्द्र केसीले शिल्डको उद्घाटन गर्नुभएको हो ।
चौथो राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा सञ्चालन उपसमितिका संयाेजक भक्तबहादुर खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख ताराप्रकाश पुन, नगरपालिकाका विषयगत समितिका संयोजकहरू, वडाध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, विद्यालयका प्रअ, शिक्षक महासंघ, पत्रकार तथा स्थानीयको सहभागिता रहेको थियो ।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख केसीले यो पटकको शिल्ड थप व्यवस्थित हुने अपेक्षा गर्नुभयो । यस शिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले जिल्ला तथा प्रदेश स्तरका प्रतियोगितामा समेत राम्रो गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नगर स्तरीय शिल्ड सञ्चालन गरेपछि नगरपालिकाले यो वर्ष जिल्ला स्तरीय शिल्ड सञ्चालन गर्ने समेत जिम्मेवारी पाएकोले नगरपालिकाले उक्त जिम्मेवारी पनि राम्ररी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यार्थीहरूको क्षमता विकासका लागि नगरपालिकाले ध्यान दिइरहेको उहाँको भनाई छ ।

नगरपालिकाले शिल्ड सँगै नगर कप समेत सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । साथै उहाँले शिक्षाको गुणस्तर वृद्धिका लागि नगरपालिकाले परीक्षामा एकरूपता कायम गर्ने देखि अन्य गतिविधिहरू सञ्चालन गरिरहेको जानकारी गराउनुभयो ।
त्यस्तै उहाँले धैरेनीचौर खेल मैदानको काम सम्पन्न गर्न वडा नम्बर ३ का वडाध्यक्ष सहित समग्र वडा र सरोकारवालाले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा सहित धन्यवाद पनि दिनुभयो । यो खेल मैदान वर्षौँ देखि निर्माणाधीन अवस्थामा रहेको थियो । हाल यस मैदानको निर्माण आंशिक रूपमा सकिएको छ ।
शिल्डमा नगरपालिकाका १८ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको शिल्ड सञ्चालन तथा व्यवस्थापन उप समितिका संयोजक भक्तबहादुर खड्काले जानकारी दिनुभयो । शिल्डमा छात्र छात्रा भलिबल सहित कुल ५२ विधामा प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो ।
उहाँका अनुसार शिल्डमा उफ्रने र फ्याँक्ने तर्फ हाइजम्प लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुटका १० विधामा, मार्सल आर्ट अन्तर्गत २४ विधामा प्रतिस्पर्धा हुने छ ।
एथलेटिक्स अन्तर्गत छात्र, छात्रा १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार दौड मिटर तथा विभिन्न दुरीको रिले दौडमा प्रतिस्पर्धा हुने छ । ट्र्याक तर्फका खेलको नगर उपप्रमुख विमलकुमार पुनले मसाल बालेर तथा सटफुट फालेर सटफुट खेलको उद्घाटन गर्नुभयो ।
पहिलो दिन सटफुट तर्फको प्रतिस्पर्धा सकिएको शिल्ड व्यवस्थापन तथा सञ्चालक उप समितिले जनाएको छ । शिल्ड १० गतेसम्म सञ्चालन हुने छ । नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिनाराम खड्काको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन सुधीर केसीले गर्नुभएको थियो ।




-1759842583.jpg)