रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जनतासँग स्थानीय सरकार कार्यक्रम सञ्चालन भएको छ । मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत थ्री यस.आर परियोजनाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
जहारीखोला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सभा हलमा सञ्चालन गरिएको कार्यक्रममा वडा नम्बर ६, १०, ११, १२ र १३ का कृषि तथा पशुपालन आमा समूहका करिब ४० जना सदस्यहरूको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोपालप्रसाद रेग्मीले सहजीकरण गरेको कार्यक्रममा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीको प्रमुख आतिथ्यता रहेको थियो ।
चौरजहारी नगरपालिका भित्रका १४ वटा वडामा स्थानीय सरकारले कृषिको क्षेत्रमा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा सञ्चालन गरेका र आगामी दिनमा नगरपालिकाले कृषि तथा पशुपालनको क्षेत्रमा गर्नु लागेका वा गर्नुपर्ने रणनीतिक योजनाको बारेमा संवाद गरिएको थियो ।
संवाद कार्यक्रममा किसानलाई बीउ, मल र औजारको उपलब्धता समयमै हुनुपर्ने, गुणस्तरीय बीउ, मल र औजार कसरी उपलब्ध गराइँदै छ, कृषि उपजको मूल्य निर्धारण, किसानले उत्पादन बेच्दा न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्ने उपाय, स्थानीय बजार विस्तार, नगर स्तरमा किसानका उत्पादन बिक्रीका लागि बजार वा सहकारीको व्यवस्था लगायतका विषयमा छलफल भएको थियो ।
किसानहरूका लागि सिँचाइ सुविधा नहर, ट्युबवेल वा पानीको स्रोत व्यवस्थापन, जलवायु परिवर्तनको असर, अनियमित वर्षा वा सुख्खा अवस्थालाई सामना गर्न नगरले बनाएका योजना, पशुपालनमा रोग नियन्त्रण, भ्याक्सिन र पशु चिकित्सा सेवा उपलब्धताका बारेमा पनि छलफल गरिएको परियोजनाका संयोजक सुदिप खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार फलफूल, तरकारी, मत्स्यपालन जस्ता विकल्पलाई प्रोत्साहन गर्ने योजना, कृषि तालिम, किसानलाई आधुनिक खेती प्रविधि सिकाउने तालिम सञ्चालन गर्ने, डिजिटल प्रविधि मोबाइल एप वा डिजिटल प्लेटफर्म मार्फत किसानलाई जानकारी दिने योजनाहरूको बारेमा समेत छलफल गरिएको थियो ।
परियोजना अधिकृत खत्रीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष वीरेन्द्र रोकाय, वडा नम्बर ११ का अध्यक्ष तुल्से ओली, वडा नम्बर १३ का अध्यक्ष श्रीकृष्ण शर्मा लगायतको उपस्थिति रहेको परियोजनाका प्राविधिक राजेश्वर शर्माले बताउनुभयो ।





-1759842583.jpg)