Kakhara सबैको खबर सम्पूर्ण खबर
झन्डै एक महिनामा खुल्यो मध्यपहाडीको मुसिकोट–रुकुमकोट खण्ड 
मध्यपहाडी लोकमार्गको रुकुम पश्चिमको मुसिकोट देखि रुकुम पूर्वको रुकुमकोट खण्ड अन्तर्गत मुसिकाेट ८ काे किटिनीमा ढलान गरिएकाे सडक ।

मध्यपहाडी लोकमार्गको रुकुम पश्चिमको मुसिकोट देखि रुकुम पूर्वको रुकुमकोट खण्ड सञ्चालनमा आएको छ । यो खण्ड झन्डै १ महिना पछि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मर्मतका लागि गत कार्तिक १२ गतेबाट बन्द भएको सडक खण्ड आजबाट सञ्चालनमा आएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जानकारी दिनुभयो । 

उहाँका अनुसार रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ को किटिनीमा सडक मर्मतको काम भएको छ । त्यस्तै रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ रानीकोटमा सडक मर्मत गरिएको छ । यी दुई ठाउँमा साँघुरो र अप्ठेरो बाटोका कारण वर्षौँ देखि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । 

प्रमुख जिल्ला अधिकारी थानीका अनुसार किटिनीमा सडक ढलान गरिएको छ । अहिले भएको भन्दा बढी कटिङ गर्ने सम्भावना नदेखिएको पछि भएकै बाटोलाई ढलान गरेर सहज बनाइएको उहाँको भनाई छ । 

निर्माण कम्पनीले किटिनीको भीरमा थप कटिङ गर्दा माथिबाट थप झर्ने समस्या हुनेभन्दै प्राविधिक रूपमा यही सही हुने देखिएकोले ढलान गरेको बताइएको छ । किटिनीमा करिब २ सय ६० मिटर सडक ढलान गरिएको छ । त्यस्तै रानीकोटमा पनि सडक ढलान गरिएको छ । 

उक्त ठाउँमा पनि साँखुरो र अप्ठेरो सडकका कारण जोखिमको सामना गर्नुपरेको थियो । दुवै ठाउँमा सडक मर्मतको काम सकिएपछि आजबाट पूर्ण रूपमा सडक सञ्चालनमा आएको हो । रुकुम पश्चिम र रुकुम पूर्वका सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरुमा कार्तिक १२ देखि कार्तिक ३० गतेसम्मका लागि सडक बन्द गरिएको थियो । 

तर मर्मतको काम नसकिएपछि ७ दिन अर्थात् मंसिर ७ गते आइतबारसम्मको समय थप गरिएको थियो । यो खण्ड बन्द भएपछि विकल्पका रूपमा साना सवारी साधनले खलङ्गा–छिङ–धाउन्ने हुँदै रुकुमकोट र ठुला सवारी साधनले खलङ्गा–छिनखेत–पिपल–पोखरा हुँदै रुकुमकोट रुट प्रयोग गरेका थिए । 

अब आज देखि भने पुरानै अवस्थाबाट मध्यपहाडी लोकमार्ग हुँदै मुसिकोट–रुकुमकोट खण्ड प्रयोग हुन थालेको छ । यस खण्डको मर्मतसँगै अव सवारी आवागमन थप सहज हुने विश्वास गरिएको छ । अधिकांश सडक कालोपत्रे भइसकेको छ भने अझै केही भाग कालोपत्रे हुने क्रममा रहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update