Kakhara सबैको खबर सम्पूर्ण खबर
लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान सुरु,  मुसिकाेटमा विविध कार्यक्रम हुने

लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान सुरु भएको छ । रुकुम पश्चिमा पनि अभियानको शुभारम्भ गरिएको छ । अभियानको एक कार्यक्रमका बिच सदरमुकाम मुसिकोट खलङ्गाको बाल मन्दिर प्राङगनमा उद्घाटन गरिएको हो । मुसिकोट नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा अभियानको अवसरमा आज बिहान जिल्ला सदरमुकाम खलङ्गा बजारमा प्रभात फेरी गरिएको थियो । प्रभात फेरी पश्चात् मुसिकोट १ बाल मन्दिर प्राङ्गणमा औपचारिक कार्यक्रम गरिएको थियो । 

‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ अभियान सुरु भएको हाे । १६ दिनसम्म सञ्चालन हुने अभियान अवधिभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएको मुसिकोट नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी अधिकृत छैटौँ कमला मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर १५ गते लागु औषध दुर्व्यसनी सम्बन्धी सचेतनामूलक कार्यक्रम त्रिभुवन जनता मावि खलङ्गामा, मङ्सिर १९ गते बालविवाह न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम महेन्द्र मावि छिवाङ चौतारामा सञ्चालन गरिने छ । 

त्यस्तै मङ्सिर २१ गते लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी समुदायमा सचेतनामूलक कार्यक्रम सोलाबाङमा, सोही कार्यक्रम मङ्सिर २२ गते मुसिकोट नगरपालिका ७ साँखमा सञ्चालन गरिने अधिकृत मल्ले जानकारी दिनुभयो । १६  दिने अभियानको अन्तिम दिन अर्थात् मङ्सिर २४ गते बाल मन्दिर प्राङ्गणमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने शीर्षकमा नगरपालिका स्तरीय मावि वक्तृत्व कला प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ छ । 

कार्यक्रमको आर्थिक सहयोग सामाजिक विकास कार्यालय रुकुम पश्चिम र एचडिसिएस चौरजहारीले गरेका छन् । नगर प्रमुख महेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा सरकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मुसिकोट महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी अधिकृत छैटौँ मल्लले गर्नुभएको थियो । यो अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने गर्दछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update